आर्थिक

शोधनान्तर डेढ खर्ब घाटामा, आयातमा कडाइले कालोबजारीको डर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष ६ गते २०:५०
शोधनान्तर डेढ खर्ब घाटामा, आयातमा कडाइले कालोबजारीको डर (भिडियो रिपोर्टसहित)

६ पुस २०७८ काठमाडौं । आयातमा भएको उच्च वृद्धि र घट्दो रेमिट्यान्स दरका कारण अहिले मुलुकको शोधनान्तर १ खर्ब ५० अर्ब रुपैयाँले घाटामा छ । विदेशी मुद्रा सञ्चिति ७ दशमलव २ महिनाको वस्तु तथा सेवाको आयात नै पर्याप्त छ ।

यो अवस्थामा राष्ट्र बैंकले कारदेखि ताससम्म, चिनीदेखि मदिरासम्मको आयातमा कडाइ गरेको छ । यसले मुलुकको अर्थतन्त्रलाई संकटबाट जोगाउने भएपनि मूल्य वृद्धि र कृत्रिम अभावको चिन्ता थपिएको छ।

उच्च आयात र रेमिट्यान्समा गिरावटका कारण अहिले मुलुकको अधिकांश आर्थिक सूचकहरु नकारात्मक छन् । जसका कारण नेपाल राष्ट्र बैंकले चिनी, मदिरा, सिमेन्ट, चकलेट, मिनरल वाटर, गाडी, सुनचाँदी लगायतका १८ वस्तुको आयातमा कडाइ गरेको छ। बढ्दो आयातले मुलुकको अर्थतन्त्रमा ठूलो संकटको जोखिम निमत्याएको भन्दै विज्ञहरुले यसलाई सकारात्मक भनेका छन् ।

राष्ट्र बैंकले गाडी आयातमा ५० प्रतिशत बैंक ऋण लिन पाउने सुविधा दिएको छ। तर केही अन्य वस्तुहरुमा एक रुपैयाँ पनि ऋण लिन नपाइने व्यवस्था गरेको छ। आयात व्यापार धेरै हदसम्म बैंककै पैसाका भरमा पर्ने हुँदा यसले आयात स्वत घट्ने छ ।

आयातमा गरिएको यो काडाइले स्वदेशी उत्पादनको खपत बढ्नेछ । तर ति सबै वस्तुको सम्पूर्ण माग स्वदेशी उत्पादनले धान्न सक्ने अवस्था नरहेकाले मूल्य वृद्धिको चिन्ता छ ।

मुलुकको अर्थतन्त्रको सवलिकरणका लागि हरेक दिन बढिरहेको व्यापार घाटा नियन्त्रण गर्न सरकारले यसको प्रभावकारितालाई हेरेर दीर्घकालिन रुपमै कडा नीति लिनुपर्ने विज्ञहरुको ठहर छ ।

राष्ट्र बैंकको यो नीतिले आयातका लागि ठूलो पैसा नबाहिरिने भएपछि त्यो आन्तरिक बजारमा बस्छ । त्यसले बैंकहरुमा देखिएको तत्कालको तरलता समस्यालाई समेत हल गर्न ठूलो मद्दत पुग्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *