खेलाडीलाई अनुशासनको कारबाही गरेको क्यान नेतृत्व आफै अनुशासन लत्याउँदै (भिडियो रिपोर्टसहित)
६ पुस २०७८ काठमाडौं । पछिल्लो समय नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीबीचको विवादले समग्र खेल क्षेत्र तरंगित छ । क्यानले तत्कालिन कप्तान ज्ञानेन्द्र मल्लसहितका ४ खेलाडीमाथि गरेको कारबाहीको पक्षविपक्षमा तर्कवितर्क भइरहेका छन् ।
खेल क्षेत्र मात्र होइन यो विषयले प्रधानमन्त्रीदेखि प्रमुख राजनीतिक दलको समेत ध्यान तानेको छ । लामो समय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको निलम्बनबाट बल्ल मुक्ति पाएको क्यान यसै विषयले फेरि गम्भीर संकटमा परेको छ ।
खेलाडीलाई राजनीति गरेको र अनुशासन तोडेको आरोप लगाउने नेपाल क्रिकेट संघ (क्यान)को अनुशासन र नैतिकतामाथि नै प्रश्न उठेको छ । चार खेलाडीलाई अनुशासनमा नबसेको र क्यानभित्रका विषयमा सार्वजनिक अभिव्यक्ति दिएको तथा गुटबन्दी गरेको आरोप लगाउने क्यान आफैं लामो समयदेखि गुटको अखडा बन्दै आइरहेको छ।
खेलाडीको हितमा काम गर्नेभन्दा कार्यकर्ता भर्ती गर्ने नेपाली खेल क्षेत्रको अग्रणी संस्था क्यानले खेलाडीलाई अनुशासन र विधि पढाएकोमा चरम विरोध भइरहेको छ । विगतमा आपसी सत्ता राजनीति र दलीय लुछाचुँडीले प्रतिबन्ध समेत खेपेको क्यानले खेलाडीमाथि गरेको कारवाहीमा समेत एकमत छैन । खेलाडी कारबाहीका विषयमा क्यान बोर्डमा छलफल भइरहँदा सदस्य छुम्बी लामासहित ६ सदस्यले व्यापक विरोध जनाएका थिए । उनीहरुले बोर्ड बैठकको निर्णयमा नोट अफ डिसेन्ट नै लेखेका छन् ।
खेलाडी वर्गीकरणको विषयबाट शुरु भएको विवादमा एकपक्षीय छानबिन समिति बनाएर खेलाडीलाई कारवाही गर्ने क्यानले ‘आफ्नो आङको भैंसी’ किन नदेखेको होला भन्ने प्रश्न जनजनमा छ ।
खेलाडीलाई अनुशासनको पाठ पढाउने अध्यक्ष चतुरबहादुर चन्दले कुन नैतिकताले खेलाडीले राजनीति गरेको या अनुशासन तोडेको भनेका होलान् भन्ने प्रश्नको जवाफ चन्दसँग पनि छैन । खेलको विकासको साटो दलको झोला बोकेर हिंड्ने अध्यक्ष चन्द नेपाली कांग्रेस बैतडीका हालै निर्वाचित सभापति हुनुहुन्छ ।
गत कार्यकाल बैतडी कांग्रेसका उपसभापति रहेका चन्द काठमाडौंमा कम र बैतडी धेरै बसेको जगजाहेर छ । पार्टीभित्रको चुनावमा समेत स्वस्थ प्रतिष्पर्धाभन्दा छलछामको सहारा लिएका चन्दले पार्टीको जिल्ला सभापति हुँदासमेत क्यानको भत्ता र शानका लागि कुर्सी छोड्नुभएको छैन ।
आफैं हिलोमा डुबेकाले अर्कालाई साबुन पानीले हात धुन उपदेश दिनुको के अर्थ ? क्यानको विधान देखाएर पद ओगटिरहेका चन्दले कम्तिमा पनि नैतिकताको आधारमा पद छाड्दा खेलाडीलाई दबाब पर्थ्यो तर अध्यक्ष चन्द त विचारको राजनीति गर्न आफू स्वतन्त्र रहेको दाबी गर्नुहुन्छ ।
क्यानको कार्य योजनाका विषयमा जुनसुकै ठाउँबाट पनि सम्पर्कमा रहेका कारण कर्मचारी जस्तो कार्यालयमा आउन आवश्यक नरहेको चन्दको जिकिर छ । क्यानको अध्यक्ष रहेर दलको सक्रिय राजनीति गर्न चन्दलाई छुट भए चित्त नबुझेको बिषयमा बोल्न खेलाडीको स्वतन्त्रता हुन्छ कि हुँदैन ? कि खेलाडी चन्द कम्पनीका दास हुन् ? भर्खरै मात्र विकास हुँदै गरेको क्रिकेटमा पदाधिकारी र खेलाडीका कारण लागिरहेको बादल हटाउन पहल गर्ने कि दलको टीका लगाएर आशिर्वाद थाप्दै हिड्ने ? खेलाडीले गल्ती गरेमा अनुशासनको अंकुश लगाउने क्यानको कार्य स्वागतयोग्य मान्न सकिन्छ तर अरुलाई अनुशासन सिकाउन पहिले आफैंबाट सुधारको प्रयास गरेमा त्यसले सकारात्मक सन्देश जानेमा दुई मत नहोला ।
हिलोमा चुर्लम आफू डुबेर चतुर ले खेलाडि लाई साबुनपानि ले हात धुन उपदेस दिनु को अर्थ छैन खेलाडि लाई गरेको कारबाहि अबिलम्ब फिर्ता हुनु पर्छ।