खेलकूद

एपीएफ क्लबमा पनि अब विदेशी खेलाडी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष ६ गते १५:०४
एपीएफ क्लबमा पनि अब विदेशी खेलाडी (भिडियो रिपोर्टसहित)

६ पुस २०७८ काठमाडौं । नेपाली खेलकुद क्षेत्र अझ विशेष गरी फटबलमा अन्य क्लबहरुले विदेशी खेलाडी भित्र्याउँदै सफलता पाइरहँदा विभागीय टोली भने नेपाली खेलाडीमै निर्भर थिए । तर व्यवसायिकरणको अभ्यास थालेसँगै घरेलु फुटबलमा विभागीय टोलीले पनि विदेशी खेलाडीमा चासो देखाइरहेक छन् । फलस्वरुप जारी सहिद स्मारक ए डिभिजन लीगमा कान्छो विभागीय टोली एपीएफ क्लबले पहिलो विदेशी खेलाडीलाई मैदानमा उतारेको छ ।

राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लीगको दोस्रो चरणमा च्यासलसँग १–० गोलले पराजित भएसँगै एपीएफ क्लबका प्रशिक्षक कुमार थापाले विदेशी खेलाडी ल्याउन क्लबले अब ढिला गर्न नहुने बताएका थिए । लीगको आफ्नो पहिलो खेलमा ब्रिगेड ब्वाइजसँग २ पटक बराबरी गरेपनि अन्तिम समयमा गोल खान पुग्दा एपीएफले हार व्यहोर्‍यो ।

दोस्रो खेलबाट पुनरागमनको आशा राखेका प्रशिक्षक थापा त्यस खेलमा पनि हार भोगेपछि लीग तालिकामा सुधारका लागि विभागीय क्लबलाई पनि विदेशी खेलाडीको आवश्यकता औंल्याए । अर्को विभागीय टोली नेपाल पुलिस क्लबका अनन्त राज थापाले पनि अन्य सिभिल क्लबले जस्तै विभागीय क्लबले पनि विदेशी खेलाडी ल्याउनुपर्ने तर्क अघि सारे ।

यसै क्रममा लीगको पाँचौं चरणमा आइपुग्दा कान्छो विभागीय टोली एपीएफ क्लब विदेशी अनुबन्ध गर्ने पहिलो विभागीय टोली बनेको छ । सोमबार सम्पन्न पाँचौं चरणको अन्तिम खेलमा एपीएफले गोल रक्षकका रुपमा जापानी खेलाडी युया कुरियामालाई खेलाएको थियो । जसमा चौंथो चरणसम्म जितविहीन एपीएफले पाँचौं चरणमा पहिलो खेल जितेको छ ।

नियमित गोलरक्षक घाइते भएपछि टोलीमा गोलरक्षकको अभाव भएको प्रशिक्षक थापाको भनाइ छ । यसअघि एपीएफबाट राजु योगीले ३ र अमृत कुमार चौधरीले १ खेल खेलेका थिए । तर पछिल्लो पटक टोलीमा गोलरक्षकको आवश्यकता परेका कारण नेपालमै उपलब्ध रहेका कुरियामालाई एपिएफले अनुबन्ध गरेको हो ।

एपीएफसीबाट क्लब लाइसेन्स प्राप्त गरेपछि अब क्लबलाई व्यावसायिक ढंगले संचालन गर्न यो एउटा सुरुवात हुन सक्छ । त्यसैले क्लबले यसै सिजनका लागि अन्य दुई विदेशी खेलाडी पनि भित्र्याउने तयारी गरिरहेको छ ।

यसअघि च्यासल युथ क्लबमा तयारी गरिरहेका कुरियामा त्यहाँ विदेशी खेलाडीको कोटा सकिएपछि एपीएफ गएका हुन् । तर पहिलो खेलमा फ्रेन्ड्सविरुद्ध कुरियामाको प्रदर्शन औसत मात्र रह्यो ।

खेलमा पटक पटक राम्रो बचाउ गरेपनि दोस्रो हाफमा फ्रेन्ड्सले पाएको पेनाल्टी रोक्ने जिम्मेवारी उनै कुरियामाको थियो । जहाँ प्रेजेन तामाङले सहजै गोल गरे । तर लीगमा पहिलो जितसँगै एपीएफ भने हौसिएको छ । लीगमा अन्य क्लबसँग राम्रा विदेशी खेलाडी रहेका कारण आफ्नो प्रदर्शन कमजोर देखिएको बताउने प्रशिक्षकहरुले अब भने यो गुनासोबाट मुक्त पाउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्