ए डिभिजन लीग फूटबलमा जावलाखेलको पहिलो जित

३ पुस २०७८ काठमाडौं । सहिद स्मारक ए डिभिजन लीग फूटबलमा जावलाखेल युथ क्लबले पहिलो जित निकालेको छ ।
दशरथ रंगशालामा भएको पहिलो खेलमा च्यासल युथ क्लबलाई १–० गोलले पराजित गर्दै जावलाखेलले पाँचौं चरणमा पहिलो जित निकालेको हो ।
खेलको एक मात्र निर्णायक गोल जावलाखेलका विदेशी खेलाडी निकोलस फर्नान्डेजले गरे । च्यासलका डिफेन्डर केचा यानिकको गल्तीको फाइदा उठाउँदै ओन्गोना जुनियरको पासमा निकोलसले उत्कृष्ट गोल गरे ।
च्यासलले ५ खेलबाट ४ अंक जोडेको छ । पहिलो जित निकालेको जावलाखेलको पनि ४ अंक नै भएको छ ।
दशरथ रंगशालामा आजै हुने अर्को खेलमा साँझ पौने पाँच थ्री स्टार क्लब र न्यूरोड टीम एनआरटीले खेल्ने छन् । ४ खेलमा ५ अंक जोडेको थ्री स्टार छैटौं स्थानमा छ ।
यस्तै पोखरामा मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा भइरहेको छ । ए डिभिजन लीगको इतिहासमै पहिलो पटक उपत्यका बाहिर खेल भएको हो ।
दोस्रो स्थानको मनाङको लक्ष्य आज शीर्ष स्थानमा उक्लने हुनेछ । आठ पटकको लीग विजेता मनाङको ४ खेलबाट १० अंक छ । त्यस्तै समान ४ खेलमा ५ अंक जोड्दै पुलिस आठौं स्थानमा छ ।
प्रतिक्रिया