Political Hightlights

नेपालमा विदेशी शक्तिले नियन्त्रित अराजकता फैलाउने उद्देश्य राखेको अध्यक्ष ओलीको दाबी

हिमालय टिभी
२०७८ मंसिर २४ गते १५:३३
नेपालमा विदेशी शक्तिले नियन्त्रित अराजकता फैलाउने उद्देश्य राखेको अध्यक्ष ओलीको दाबी

२४ मंसिर २०७८ काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा विदेशी शक्तिले नियन्त्रित अराजकता फैलाउने उद्देश्य राखेको बताउनुभएको छ ।

आज नेकपा(एमाले) बागमती प्रदेश संगठन कमिटीले काठमाडौंमा आयोजना गरेको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यहरु, केन्द्रीय आयोगका पदाधिकारी र सदस्यहरुलाई बधाई, सम्मान तथा शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विदेशी शक्तिले नेपालमा नियन्त्रित अराजकता फैलाउने उद्देश्य राखेको बताउनुभएको हो ।

नेपालमा कूटनीतिक क्षेत्रमा काम गरेर फर्किएका एक कूटनीतिज्ञले लेखेको पुस्तकले सो कुरा स्पष्ट पारेको उहाँले उल्लेख गर्नुभयो । नेपालमा अराजकता भित्रिन नदिने एमाले भएकाले पुस्तकमा एमाले र आफुविरुद्ध लेखिएको पनि उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले नेपालमा विदेशीको हातको नियन्त्रित अराजकता र अस्थिरता पस्न नदिने र पसिहालेमा पराजित गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘एउटा नेपालमै लामो समय कूटनीतिक सेवा गरेर फर्किएको एउटा विदेशीले के लेखेको छ किताबमा भने, एउटा किताब निकालेको छ त्यो किताब पहिलो कुरो एमालेविरुद्ध छ । अलिक राम्रैसँग मेराविरुद्ध छ । उद्देश्य के छ, के हो उनको देशको उद्देश्य भन्दा नेपालमा नियन्त्रित अराजकता फैलाउने । एउटा कूटनीतिज्ञले कबुल गर्छ लिखित रुपमा अनेकपल्ट हेरेर, लेखेर, हेरेर, सम्पादन गरेर प्रकाशन गरेको, सुविचारित ढंगले प्रकाशित गरेको पुस्तकमा । बोल्दाखेरी बाइ द वे बोलिएको कुरा होइन । लेखेर, हेरेर, पढेर फेरी बिचार गरेर, सम्पादन गरेर प्रकाशित गरेको पुस्तकमा नियन्त्रित अराजकता हामी नेपालमा ल्याउँछौँ अथवा हाम्रो उद्देश्य नियन्त्रित अराजकता हो । त्यसको बाधक नेकपा(एमाले) हो, जसले नियन्त्रित अराजकता र अराजकता ल्याउन दिदैँन ।

अध्यक्ष ओलीले राजनीतिक पार्टीले नै राष्ट्रियता र राष्ट्रिय एकता जोगाउने उल्लेख गर्दै त्यसका लागि स्पष्ट राष्ट्रिय दृष्टिकोण हुनुपर्ने बताउनुभयो । एमालेको ‘समृद्ध नेपाल, सुखि नेपाली’ को स्पष्ट दृष्टिकोण भएको उहाँको भनाई छ । एमालेको दृष्टिकोणलाई संशोधन गरेर ‘समुन्नत नेपाल : सम्मानित नेपाली’ बनाइएको उहाँले टिप्पणी गर्नुभयो ।

नेपाली कांग्रेसका युवा नेता तथा १४ औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा गरेका गगन थापाले ‘समुन्नत नेपाल : सम्मानित नेपाली’ को नारा अघि सारेका थिए । ओलीले सोही नाराप्रति टिप्पणी गरेका हुन् ।

उहाँले भन्नुभयो – ‘आजकाल अलिअलि सुन्न थालिया छ, हामीले समृद्ध नेपाल सुखी नेपाली भन्यौँ । अहिले त्यसबाट अलिअलि यताउता पार्न खोज्या, समुन्नत नेपाल सम्मानित नेपाली पो हुनुपर्छ भन्ने यताउता त्यसमा संशोधन गरेर चिन्तकहरु निस्किन खोज्या देखिन्छ । राम्रो कुरा हो त्यो । तर पहिले यस्तै भएको थियो । आफ्नो गाउँ आफैँ बनाऔँ एउटा अभियान चलेको थियो । त्यसलाई अनेक खालका नामहरुमा त्यसलाई परिवर्तन गर्न खोजियो ।’

उहाँले अब बस्ने केन्द्रीय कमिटी बैठकले महत्वपूर्ण काम गर्ने उल्लेख गर्नुभयो । एमालेलाई आराम गर्ने फुर्सद नभएको भन्दै सक्रियतापूर्वक काममा लाग्न र पुरै देशलाई नै कामरेडमय बनाउन उहाँले नेताहरुलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *