Political Hightlights

कांग्रेस सभापतिका लागि साझा उम्मेदवार तय गर्दै पौडेल समूह, आज पनि छलफल हुँदै

हिमालय टिभी
२०७८ मंसिर २१ गते ९:१३
कांग्रेस सभापतिका लागि साझा उम्मेदवार तय गर्दै पौडेल समूह, आज पनि छलफल हुँदै

२१ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै पदाधिकारीका उम्मेदवारको बारेमा निर्णय गर्न विभिन्न गुट र समूहका औपचारिक तथा अनौपचारिक छलफलहरू तीव्र बनेका छन् ।

पदाधिकारीमा उम्मेदवारीको घोषणा गर्नेक्रम पनि बढेको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले केन्द्रीय सभापतिको साझा उम्मेदवार टुङ्गो लगाउन गएराति अबेरसम्म छलफल गर्नुभएको छ । तर, कुनै निर्णय भने हुन सकेन ।

आज पनि छलफल गर्नेगरी गएराति नेताहरू बैठकबाट उठेका थिए । उनीहरूका अनुसार ४८ घण्टाभित्रमा सभापतिमा साझा उम्मेदवार तय गर्ने सहमति बनेको छ । वरिष्ठ नेता पौडेलले आज थप छलफल गरेर निर्णयमा पुग्ने जानकारी दिनुभयो ।

सभापतिका चार आकाङ्क्षी नेता वरिष्ठ नेता पौडेलको निवास बोहराटारमा भेला भएका थिए । महामन्त्री डा. शशाङ्क कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालासहित नेता पौडेलले छलफल गर्नुभएको थियो ।

महाधिवेशन आउन ३ दिन मात्रै बाँकी रहँदा उम्मेद्वारी दिने तथा सहमतिका लागि छलफल गर्ने क्रम पनि बढिरहेको छ । हालसम्म कांग्रेस सभापतिमा शेरबहादुर देउवा, वरिष्ठ नेता पौडेल, विमलेन्द्र निधि, शशाङ्क कोइराला, प्रकाशमान सिंहलगायत नेताहरूले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

महामन्त्रीमा गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, रमेश लेखक, एनपी साउदले चाहना राखेका छन् । महामन्त्रीका आकांक्षी साउदले आफु पदाधिकारीको नेतृत्वबाट पछि नहट्ने बताउनुभयो ।

हिजो काठमाडौंमा पत्रकार सम्मेलन गरेर कांग्रेस नेता भीष्मराज आङ्देम्बेले आदिबासी/जनजातितर्फ सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । हिजो बिहान बालुवाटारमा पत्रकारहरुसँग छलफल गर्दै वर्तमान सभापति तथा प्रधानमन्त्री देउवाले फेरि एक पटक सभापतिमा दोहोरिन चाहेको बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्