Political Hightlights

प्रदेश १ मा कोइराला परिवारको विरासत सकिएकै हो ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २१ गते ६:३२
प्रदेश १ मा कोइराला परिवारको विरासत सकिएकै हो ? (भिडियो रिपोर्टसहित)

२१ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशनहरु लगभग सकेको छ । प्रदेश तहमा देखिएका फरक–फरक समीकरणले केन्द्रीय महाधिवेशनमा प्रभाव पार्ने चित्र प्रष्टिदैछ ।

प्रदेश १ मा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको समीकरण बन्दा संस्थापन इतरमा मनभेद देखिएको छ । कोइराला परिवारको विरासत बोकेको प्रदेश १ मा देउवा–सिटौला समूहले नेतृत्व लगभग हात पारेको छ । इतरमा भने धोकाधडीको गन्ध आएको छ ।

प्रदेश १ कांग्रेसमा कोइराला परिवारको वर्चश्व रहेको पार्टीमा चर्चा हुँदै आएको छ । कृष्णप्रसाद कोइरालादेखि कांग्रेसको राजनीतिमा विराटनगर र पूर्व क्षेत्र जोडिएर आउँछ । गिरिजाप्रसाद कोइराला जिवित रहँदासम्म पनि कोइराला परिवारको पकड कायमै थियो ।

कोइराला परिवारकै ‘लिगेसी’ बोकेका महामन्त्री शशांक कोइरालादेखि वरिष्ठ नेता रामचन्द्र पौडेल समूह १४ औं महाधिवेशनको सम्मुखमा आइपुग्दा कमजोर सावित भएको छ । संस्थापन पक्षले प्रभाव विस्तार गर्दा इतर पक्ष कमजोर हुनुमा स्थानीय नेताहरुले कोइराला परिवारको भूमिकामा प्रश्न उठाएका छन् ।

यहाँसम्म की इतर समूहबाट सभापतिको उम्मेदवार बनेका गुरुराज घिमिरे २ मत मात्र कम पाएर देउवा–सिटौला समूहका उद्धव थापासँग पराजित हुनुभयो । थापाले आठ सय ४४ मत पाउँदा घिमिरेले आठ सय ४२ मत ल्याउनुभयो । नेता शेखर कोइराला, सुजाता कोइराला र महेश आचार्य मतदानमै सहभागी हुनुभएन ।

थापाको जिल्ला झापाबाट इतर समूहलाई सहयोग भए पनि मोरङ, सुनसरीबाटै असहयोग भएको ठानिएको छ । इतर समूहबाट प्रदेश कांग्रेस संसदीय दलका नेता समेत रहेको सुनसरीका राजीव कोइराला पनि प्रदेश सभापतिका आंकाक्षी हुनुहुन्थ्यो ।

उहाँ शेखर कोइराला निकट मानिनुहुन्छ । तर एकाएक केन्द्रको राजनीतिमा छवी बनाएका घिमिरेलाई कोइराला पक्षले अघि सार्दै सुनसरीका राजीव कोइरालालाई व्याक गरेको थियो । यहाँ स्थानीय तहबाट असन्तुष्टि सुरु भयो । मतगणनामा समेत चित्त नबुझाएका घिमिरेले पुनः गणना गर्न माग गर्नुभएको छ ।

संस्थापन पक्षका उम्मेदवार कमजोर भएका कारण घिमिरेले जित्ने इतर पक्षको दाबी थियो । तर, राजिव कोइरालाले टिकट नपाएपछि उहाँकै रोजाइमा महामन्त्रीको उम्मेदवार बनेका उमेश थापाले जित हात पार्नुभयो ।

सहमहामन्त्रीमा पनि केन्द्रीय सदस्य आचार्य निकट विनोदकुमार बस्नेतले जित हात पार्नुभयो । आफ्नै समूहका महामन्त्री र सहमहामन्त्रीले जित्दा सभापति उम्मेदवार घिमिरेले हार्नुमा असहयोग मान्नेहरु इतर समूहका धेरै छन् ।

जिल्ला अधिवेशनमा प्रदेश १ का १४ मध्ये मोरङ, सुनसरी, संखुवासभा, तेह्रथुम, खोटाङ र भोजपुरमा संस्थापनइतर पक्ष बिजयी भएको थियो ।
संस्थापन पक्षले धनकुटा, सोलुखुम्बु, ताप्लेजुङ, इलाम, पाँचथर, ओखलढुङ्गा, उदयपुर जिल्ला जितेको थियो । सिटौला पक्ष झापामा विजयी भएको थियो । प्रदेश १ को कांग्रेस राजनीतिमा इतर समूहमा देखिएको किचलो भुसको आगो जस्तै केन्द्रसम्म सल्किने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्