Political Hightlights

एमसीसी र प्रधानन्यायाधीशविरुद्धको महाभियोग राष्ट्रिय सहमतिबिना अघि बढ्दैनः प्रचण्ड (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १८ गते १७:१२
एमसीसी र प्रधानन्यायाधीशविरुद्धको महाभियोग राष्ट्रिय सहमतिबिना अघि बढ्दैनः प्रचण्ड (भिडियो रिपोर्टसहित)

१८ मंसिर २०७८ काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुबीचको सहमतिविना प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताउनु भएको छ ।

अध्यक्ष प्रचण्डले यही मंसिर २८ गते बोलाइएको संघीय संसदको हिउँदे अधिवेशनमा पनि राष्ट्रिय सहमति र दलहरुबीचको समझदारी नभई प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव अघि बढने अवस्था नरहेको प्रष्टयाउनु भएको हो ।

आज पार्टी निकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजित चौंथो राष्ट्रिय महाधिवेशनमा बोल्दै उहाँले राजनीतिक दलहरुको सहमति र समझदारी नभई एमसीसीबारे संसदले निर्णय लिने अवस्था नरहेको पनि बताउनु भयो ।

प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोग लगाउने कुरा र एमसीसी पारित गर्ने कुरा दलहरुबीचको सहमतीमा मात्रै हुने अध्यक्ष प्रचण्डको भनाइ थियो । अध्यक्ष प्रचण्डले प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउने कुरा, एमसीसी के हुन्छ भन्ने विषयमा चिन्ता नलिई लोकतन्त्र र गणतन्त्रको पक्षमा दृढतापूर्वक उभिन पार्टी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टरका नेता, कार्यकर्तालाई अपिल गर्नु भयो ।

उहाँले भन्नुभयो, ‘न्यायालयतिर के होला भन्ने चिन्ता । अर्कोतिर एमसीसी भन्ने छ । एमसीसीले के गर्छ भन्ने चिन्ता । २८ गते सदन बोलाइएको छ । केहीले सोचेका छन–एमसीसीका लागि बोलाइएको हो कि भनेर । कोहीले सोचेका छन–महाअभियोगका लागि भनेर । यो त हिँउँदे अधिवेशन हो । यो अधिवेशन हामीले बोलाउनु नै पर्थ्यो, प्रतिनिधिसभाको महत्वका लागि पनि । अब त्यहाँभित्र राजनीतिक दलहरुको समझदारी बनाएर, जान्छौं हामी । एमसीसीको पनि राष्ट्रिय सहमति र राजनीतिक दलहरुको समझदारीबाटै जान्छ । जबरजस्ती गरेर कसैले हुने कुरा छैन । महाअभियोग पनि त्यो राष्ट्रिय हितअनुसार राजनीतिक समझदारीको आधारमा मात्रै हुने÷नहुने कुरा हुन्छ । त्यसकारण त्यसमा चिन्ता नमानी लोकतन्त्र र गणतन्त्रको पक्षमा, हामीले ल्याएको परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन अपिल गर्दछु ।’

अध्यक्ष मुलुकमा अझै प्रतिगमनको खतरा टरिनसकेको उल्लेख गर्दै त्यसविरुद्ध कलम चलाउन पनि पत्रकारहरुलाई आग्रह गर्नु भयो । उहाँले प्रतिगमनकारी र प्रतिक्रान्तिकारी शक्तिहरुले सत्तारुढ गठबन्धनलाई कमजोर पार्न सकिन्छ कि भनेर षडयन्त्र गरिरहेको दोहोर्‍याउनु भयो ।

अध्यक्ष प्रचण्डले एमालेको चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनलाई पञ्चायतीकरणको संज्ञा दिँदै त्यसविरुद्ध अझ सजक र सक्रियताका साथ लागि पर्न पनि पार्टी निकट पत्रकारहरुलाई सचेत गराउनुभयो ।

अध्यक्ष प्रचण्डले आफूहरुले प्रतिक्रान्तिलाई रोक्दै मुलुकलाई समृद्धिको बाटोतर्फ अघि बढाउन चाहेको पटक–पटक दोहोर्‍याउनु भयो । त्यस अवसरमा उहाँले प्रेस सेन्टर नेपालको नेतृत्व चयनमा आफूले हस्तक्षेप नगर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्