Political Hightlights

एमाले महाधिवेशन : एघार जिल्लाबाट प्रतिनिधिको विवरण आउन बाँकी

हिमालय टिभी
२०७८ मंसिर १ गते १३:५७
एमाले महाधिवेशन : एघार जिल्लाबाट प्रतिनिधिको विवरण आउन बाँकी

१ मंसिर २०७८ काठमाडौं । नेकपा (एमाले)को दसौँ राष्ट्रिय महाधिवेशनका लागि ११ जिल्लाबाट अझै प्रतिनिधिको विवरण आउन बाँकी रहेको छ ।

ती जिल्लामा प्रतिनिधि छनोट भइसके पनि प्राविधिक कारणले विवरण अझै नआएको एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार कैलाली, कञ्चनपुर, बाजुरा, ताप्लेजुङ, पाँचथर, सुनसरी, सप्तरी, सिराहा, महोत्तरी, रौतहट र धनुषाबाट निर्वाचित भएका प्रतिनिधिको विवरण अझै प्राप्त नभएको हो । “महाधिवेशनका लागि सबै जिल्ला, विभाग र जनसङ्गठनमा प्रतिनिधि छनोट सम्पन्न भइसकेको छ”, उहाँले भन्नुभयो, “तर केही प्रक्रिया पु¥याउनुपर्ने भएकाले ती जिल्लाबाट विवरण आउन ढिलाइ भएको हो ।”

यस्तै २२ जनसङ्गठनमध्ये छ वटाबाट प्रतिनिधिको विवरण नआएको उहाँको भनाइ छ । एमालेले कात्तिक ३० गतेसम्म प्रतिनिधिको विवरण पठाउन निर्देशन दिए पनि ती जिल्ला र जनसङ्गठनबाट विवरण नआएको हो ।

उहाँले बिहीबारसम्म सबै जिल्ला र जनसङ्गठनको विवरण आउने बताउनुभयो । एमालेमा एक निर्वाचन क्षेत्रबाट एक महिला, एक दलितसहित पाँच र जनसङ्गठनबाट पाँचजनाका दरले प्रतिनिधि छनोट गरिएको छ ।

यही मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि एमालेले कात्तिक २७ गते देशभर एकैसाथ प्रतिनिधि छनोट गरेको थियो । महाधिवेशनका लागि धेरै जसो जिल्ला कमिटीमा सर्वसम्मत प्रतिनिधि छनोट गरिएको एमाले प्रचार विभाग उपप्रमुख थापाले बताउनुभयो ।

चितवनमा हुने महाधिवेशनमा देशभरिबाट एक हजार ९९९ प्रतिनिधि सहभागी हुने भएका छन् । महाधिवेशनले १५ केन्द्रीय पदाधिकारीसहित २२५ केन्द्रीय कमिटी सदस्य र लेखा आयोग तथा अनुशासन आयोगमा १५÷१५ जना निर्वाचित गर्नेछ । महाधिवेशन गर्न एमाले नेता रामबहादुर थापाको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्