Political Hightlights

सत्ता गठबन्धन टुट्ने हो कि भन्ने आशंका नगर्न नेता तथा कार्यकर्तामा अध्यक्ष नेपालको आग्रह

हिमालय टिभी
२०७८ कार्तिक २७ गते १८:५४
सत्ता गठबन्धन टुट्ने हो कि भन्ने आशंका नगर्न नेता तथा कार्यकर्तामा अध्यक्ष नेपालको आग्रह

२७ कात्तिक २०७८ काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन टुट्ने हो कि भन्ने आशंका नपाल्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नु भएको छ ।

अध्यक्ष नेपालले आसन्न राष्ट्रियसभाको निर्वाचन र रिक्त रहेको प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा मिलेर उम्मेदवारी दिने र विजयी बनाउने सत्तारुढ दलबीच सहमति भएको र त्यसले गठबन्धनलाई टुटाउन खोज्नेहरुको सपनालाई चकनाचुर पारेको दावी समेत गर्नु भयो ।

सानेपास्थित हेरिटेज प्लाजामा आजदेखि शुरु भएको पार्टी केन्द्रीय कमिटीको बैठकमा बोल्दै उहाँले सत्तारुढ गठबन्धनको आयू लामो छैन भन्नेहरुलाई जवाफ दिनेगरी आफूहरुले राष्ट्रियसभाको निर्वाचन तथा उपनिर्वाचनमा मिलेर उम्मेदवारी दिने र विजयी गराउने सहमति गरिसकेको पनि स्पष्ट पार्नु भयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘पाँच दलीय राजनीतिक गठबन्धनले आउने चुनावसम्मको सन्दर्भमा खासगरीकन आउँदो चुनावलाई फोकसमा राखेर मिलेर नै उम्मेदवारी दिने र जिताउने अभियानमा जुटने सहमती गरेको छ । एउटा राष्ट्रियसभाको चुनाव, जुन आउँदो माघ महिनामा हुन गइरहेको छ । प्रतिनिधिसभा र प्रदेश सभामा रिक्त रहेको उपनिर्वाचनमा पनि मिलेर उम्मेदवारी तय गर्ने र मिलेर नै जिताउने सहमती भइसकेको छ । यो सहमतीले गठबन्धनको आयू लामो छैन र यिनीहरुबीचको एकतालाई तोडन सकिन्छ कि भन्ने सोच र चाहना सबै चकनाचुर भएका छन । हाम्रो बीचमा पनि यस्ता खालका आशंका नहोस् ।’

अध्यक्ष नेपालले दुई वटा निर्वाचनको परिणाम सकारात्मक आउने र गठबन्धनबीचको सहकार्य झनै कसिलो भएर जाने तर्क समेत गर्नु भयो ।

कार्यक्रममा बोल्दै पार्टीका सम्मानित नेता झलनाथ खनालले सत्तारुढ गठबन्धनबीचको सहकार्यलाई पार्टीको तल्लो कमिटीसम्म लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले एमालेको ठूलो पंक्ति अलमलमा रहेको उल्लेख गर्दै त्यसलाई पार्टीमा ल्याउने गरी उत्साहका साथ काम गर्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गर्नु भयो ।

बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री एवम् पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र प्रदेश १ का मुख्यमन्त्री एवम् पार्टीका सचिव राजेन्द्र राईले आ– आफ्नो प्रदेश सरकारको योजनाबारे बिफ्रिङ गर्नु भएको थियो । नेकपा (एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आइतबारसम्म चल्ने पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्