आर्थिक

बाली बीमाबारे किसान बेखबर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक २४ गते १५:४३
बाली बीमाबारे किसान बेखबर (भिडियो रिपोर्टसहित)

२४ कात्तिक २०७८ बाँके । खेती किसानी गर्दा हुन सक्ने क्षतिलाई सुरक्षित गर्न सरकारले शुरु गरेको बाली बीमा कार्यक्रम कागजमा मात्रै सीमित छ । बाली बीमा नहुँदा गत कात्तिक पहिलो साता वर्षा र डुबानका कारण किसानले धानबालीमा ठूलो क्षती बेहोर्नुपर्‍यो ।

बाँके र बर्दिया नेपालमै धेरै धान उत्पादन हुने जिल्ला हुन् । बाँकेमा करिब ३६ हजार ५ सय र बर्दियामा ५० हजार २ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । दुई जिल्लामा गरी करिब १ लाख ७० हजार परिवारले धान खेती गर्छन् । तर ९९ प्रतिशत किसानले धानबालीको बीमा गराएका छैनन् ।

कात्तिकको पहिलो साता भएको अविरल बर्षा र बाढीबाट बाँके र बर्दियामा मात्रै करिब ५० हजार हेक्टर खेतमा लगाएको धान बालीमा क्षति भयो । करिब १ लाख परिवार प्रत्यक्ष रुपमा प्रभावित भएका छन् ।

असिना, रोग किराको प्रकोप , सुख्खा र बाढी जस्ता प्रकोपहरुबाट खेतीबालीमा हुने नोक्सानीको जोखिम कम गर्न बीमा गर्दा लाग्ने प्रिमियम शुल्कमा सरकारले ८० प्रतिशतसम्म अनुदान दिन्छ । सरकारले अनुदान दिँदा पनि किसान बीमा प्रति आकर्षित हुन सकेका छैनन् । यो वर्ष बाँकेमा धान खेती गर्ने २ जना किसानले मात्रै धानबालीको बीमा गराएको पाइएको छ ।

बीमा नगराएकै कारण यो वर्ष बाँके र बर्दियाका किसानले निक्कै ठुलो क्षति बेहोरे । सरकारले २०६९ सालदेखि बाली बीमा कार्यक्रम संचालन गर्दै आएको छ । तर कृषि मन्त्रालय अन्तर्गतका कार्यालयले बाली बीमाबारे किसानलाई प्रष्ट रुपमा जानकारी दिन सकेका छैनन् ।

बाली बीमा कार्यक्रम लागू भए पनि सचेतना अभिवृद्धि गरी किसानलाई बाली बीमाप्रति प्रेरित गर्ने कार्यक्रमहरु संचालन नहुँदा यसको आकर्षण बढ्न नसकेको हो ।

बीमा गर्नका लागि आवश्यक कागजात किसानले जुटाउनु पर्छ । नोक्सानी भएमा बीमा दाबी गर्ने पनि प्रक्रिया छ । जसलाई किसानले झन्झटिलो मान्ने गरेका छन् । त्यसैले यो कार्यक्रम प्रभावकारी बन्न नसकेको अनुभव बीमा कम्पनीहरुको छ ।

तर केही किसान भने बालीका बारेमा जानकारी पाए पछि बीमा गराउन खोज्दा पनि कम्पनीले बीमा नगरिदिएको गुनासो गर्छन् ।

निर्जीवन बीमा कम्पनीहरुले कृषि बीमा गर्दै आएका छन् । बाँकेमा एनएलजी बीमा कम्पनीलाई कृषि बीमा गर्ने मुख्य कम्पनी तोकिएको छ । खडेरी, बाढी, हावाहुरी र शितलहरका कारण खेतीबालीमा हुने जोखिम घटाउन बाली बिमा निक्कै प्रभावकारी हुन्छ । तर कृषि प्राबिधिक तथा बीमा कम्पनी प्रतिनिधि किसानको खेतबारीमै पुगेर बाली बिमा गर्न किसानलाई प्रेरित गर्न आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *