आर्थिक

चाडपर्वमा अर्थतन्त्र : नेपाललाई भन्दा अरु देशलाई बढी लाभ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १८ गते २०:४६
चाडपर्वमा अर्थतन्त्र : नेपाललाई भन्दा अरु देशलाई बढी लाभ (भिडियो रिपोर्टसहित)

१८ कात्तिक २०७८ काठमाडौं । चाडपर्वमा देशकै अर्थतन्त्र चलायमान हुने गरेको छ । दशैं, तिहार, छठ लगायतका पर्वमा अत्यावश्यक सामग्री मात्र होइन, विलासिताका वस्तुहरुको समेत कारोबार बढ्ने गर्छ । तर, उपभोगका अधिकांश वस्तु आयात गरिने भएकाले नेपालले भन्दा अरु देशले बढी लाभ लिने गर्छन् ।

नेपालीहरुको महान पर्व दशैं, तिहार, छठ सांस्कृतिक, धार्मिक र सामाजिक महत्व मात्र होइन, हिजो–आज आर्थिक पर्वको रुपमा पनि विकास भएको छ ।

चाडपर्वलाई नै ध्यानमा राखेर किनमेल र खानपान गर्ने चलनपनि बढेकोछ । वर्षभरी हुने कूल कारोबारको ४० प्रतिशत खर्च यस्तै मुख्य पर्वमा हुने गरेको विज्ञ बताउँछन् । पर्वमा हुने खरिदबिक्री र उपभोगले राष्ट्रिय अर्थतन्त्रलाई नै चलायमान बनाउँछ ।

लत्ताकपडादेखि गरगहना, सवारी साधनदेखि विद्युतीय उपकरण, मरमसलादेखि माछामासु, फलफूलको किनबेच पनि यही बेला चम्किने गर्छ । सुनचाँदी व्यवसायीका अनुसार धनतेरसको एकैदिन यसवर्ष एक अर्ब रुपैयाँभन्दा बढीको सुनचाँदीको कारोबार भयो ।

एक अर्बभन्दा बढीको भाई मसला विभिन्न देशबाट आयात भएको छ । ३५ करोड बढीको झिलीमिली बत्ति आयात भएको छ । फूल र फूलका माला मात्र डेढ करोड रुपैयाँ भन्दा बढीको आयात गरिएको छ। दियो तथा पाला, मैनबत्ती र पूजाका सामग्री पनि लाखौको आयात भएको छ। जसले स्वदेशी भन्दा पनि विदेशी अर्थतन्त्रलाई टेवा दिने गर्छ ।

उपभोगसँगै पर्वले आयको पुनर्वितरणसमेत गर्छ । विभिन्न पेश, व्यवसाय, अध्ययन वा अन्य कुनै कामले शहरी क्षेत्र एवम् विदेश गएका समेत पर्वकै लागि भनेर आफ्नो गाउँ फर्कने गर्छन् । यसले आयको पुनर्वितरण गरी ग्रामीण अर्थतन्त्रलाई समेत चलायमान बनाइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *