आर्थिक

तरलता अभाव : अर्थतन्त्र पुनरुत्थानमा समस्या (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १६ गते १६:५३
तरलता अभाव : अर्थतन्त्र पुनरुत्थानमा समस्या (भिडियो रिपोर्टसहित)

१६ कात्तिक २०७८ काठमाडौं । पछिल्लो समय वित्तीय प्रणालीमा लगानीयोग्य रकम अर्थात तरलता संकटले चरम रूप लिँदैछ । तरला अभाव हुँदै गएपछि अधिकांश बैंक तथा वित्तीय संस्थाले नयाँ कर्जा रोकेका छन् ।

निरन्तर ऋणको माग बढेको तर त्यसको अनुपातमा निक्षेप संकलन हुन नसक्दा कर्जा रोक्नुपर्ने अवस्थामा बैंकहरु पुगेका हुन । तरलता अभाव हुँदा कोरोना प्रभावित अर्थतन्त्र पुनरुत्थनामा पनि समस्या भएको छ।

चालू आर्थिक वर्ष २०७८–०७९ को तीन महिनामा बैंकहरुले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा कर्जा लगानी भने ३ खर्ब ४७ अर्ब रुपैयाँ गरे । कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन ज्यादै न्यून हुँदा बैंकहरु अहिले चरम तरलता अभावको अवस्थामा छन् ।

तरलता अभाव रहेका करिब डेढ दर्जन बैंकमध्ये ८ वटाले नयाँ कर्जा प्रवाह पूर्णरूपमा रोकेका छन । बाँकी बैंकले पनि प्राथमिकताका आधारमा स–सानो कर्जा मात्र प्रवाह गरिरहेका छन । अहिले वित्तीय प्रणालीमा करिब २० अर्ब रुपैयाँ मात्र तरलता छ । तरलता अभावको मारमा सबैभन्दा बढी पर्यटन, साना तथा मझौला उद्योगमा परेको छ ।

निक्षेपका अन्य स्रोत सरकारी खर्च कम छ, रेमिट्यान्स बढ्न सकेको छैन, आयात बढिरहेकाले विदेशी मुद्रा सञ्चिति कम छ । यसकारण कर्जा प्रवाह र निक्षेप संकलनबीच असन्तुलन बढेकाले समस्या भएको बैंकर बताउँछन् । प्रवाह भएको कर्जामध्ये पनि ५० प्रतिशत आयातमा गएको छ।

राष्ट्र बैंकले भने तरलता अभाव हुनुमा बैंकहरुलाई नै दोषी भनेको छ । बाणिज्य बैंकहरुले घाँटी हेरेर हाड ननिल्दा तरलताको समस्या आएको केन्द्रिय बैंकको ठहर । यतीमात्र होइन बैंकर्सले दीर्घकालिन रुपमा नसोच्दा यो संकट सृजना भएको दाबी राष्ट्र बैंकको छ।

गत आर्थिक वर्षको अन्तिमसम्म कोरोनाका कारण बैंकहरुले कर्जा प्रवाह गर्न पाएका थिएनन् । तर कोरोना कहर कम भएसँगै बैंकहरुमो ऋणको माग बढ्यो । र बैंकहरुले मौका यही हो भन्दै धमाधम कर्जा प्रवाह गरे ।

जसले गर्दा बैंक तथा वित्तिय संस्थामा लगानी योग्य रकम नै सकियो । त्यसैले राष्ट्र बैंकले कर्जा दिन पाइयो भन्दैमा मनपरी प्रवाह नगर्न र यसले समाज र अर्थतन्त्रलाई पुग्ने फाइदासँगै दीर्घकालिन असरबारे पनि विचार गर्न जोड दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *