आर्थिक

सस्तोमा किनेर महंगोमा बेच्दा पनि आयल निगम सधैं किन घाटामा ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १३ गते २०:३७
सस्तोमा किनेर महंगोमा बेच्दा पनि आयल निगम सधैं किन घाटामा ? (भिडियो रिपोर्टसहित)

१३ कात्तिक २०७८ काठमाडौं । नेपाल आयल निगमले सबै प्रकारका इन्धनको मूल्य बढाएको छ। निगमले भारतको रक्सौल–बरौनी डिपोमा खरीद गरेको मूल्यभन्दा झन्डै दोब्बर बढीमा पेट्रोलियम पदार्थ बेच्दै आएको छ । र पनि उसले घाटा व्योहोरिरहनु परेको छ । पेट्रोलियम पदार्थ किन महँगो भएको छ ? र किनेको मूल्यभन्दा झन्डै दोब्बर बढीमा बेच्दा पनि किन निमगलाई घाटा भइरहेको छ ।

निगमले शुक्रबार सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३३ रुपैयाँ पुगेको छ। निगमले भारतको रक्सौल बरौनीबाट पेट्रोल प्रतिलिटर ७६ रुपैयाँ ०७ पैसामा खरिद गर्दै आएको छ। खरिद मूल्यमा सरकारी कर राजस्व एवं मूल्य अभिवृद्धि कर ५७ रुपैयाँ ३६ पैसा लाग्छ ।

निगमको सम्पूर्ण खर्च १ रुपैयाँ ९६ पैसा, व्यवसायीलाई ढुवानी भाडा ४ रुपैयाँ ९५ पैसा, पेट्रोलियम बिक्रेता(ग्यास कम्पनीको खर्च(मुनाफा ५ रुपैयाँ २१ पैसासहित लागत खर्च प्रतिलिटर १ सय ४५ रुपैयाँ ५५ पैसा पर्छ । बिक्री मूल्य भने प्रतिलिटर १ सय ३३ रुपैयाँ तोकिएको छ। पछिल्लो मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर १२ रुपैयाँ ५५ पैसा घाटा भएको निगमको दाबी छ ।

त्यस्तै नयाँ मूल्य सूची अनुसार डिजेल र मट्टीतेलको ११६–११६ रुपैयाँ पुर्‍याइएको छ। जबकी डिजेलको खरीद मूल्य ७८ रुपैयाँ २८ पैसा र मट्टितेलको ६५ रुपैयाँ ६० पैसा हो । डिजेलमा पनि ४० रुपैयाँ ३ पैसा सरकारी कर लाग्छ ।

निगमको सम्पूर्ण खर्च १ रुपैयाँ ५६ पैसा, ढुवानी भाडा ३ रुपैयाँ ७३ पैसा र बिक्रेता कम्पनीको खर्च एवम् मुनाफा ४ रुपैयाँ ७ पैसा गरी प्रतिलिटर लागत खर्च १ सय २७ रुपैयाँ ६७ पैसा पर्छ । यो मूल्य अनुसार डिजेलको घाटा प्रतिलिटर ११ रुपैयाँ ६७ पैसा छ ।

मट्टितेलमा पनि खरिद मूल्यमा सरकारी कर २० रुपैयाँ ४३ पैसा, निगमको खर्च वापतको १ रुपैयाँ ४६ पैसा, ढुवानी भाडा २ रुपैयाँ ७५ पैसा र बिक्रेताको खर्च एवम् मुनाफा ४ रुपैयाँ ४ पैसाँ जोड्दा लागत मूल्य ९४ रुपैयाँ ४८ पैसा पर्छ । तर यसको बिक्री मूल्य १ सय १६ रुपैयाँ रहेकाले मट्टितेलमा भने २१ रुपैयाँ ७२ पैसा निगमलाई नाफा छ ।

खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ५० रुपैयाँ बढाएर बिक्री मूल्य १५ सय रुपैयाँ तोकिएको छ। यसको खरिद मूल्य प्रतिसिलिन्डर १३ सय ६७ रुपैयाँ ३४ पैसा हो । तर यसमा पनि सरकारी कर प्रतिसिलिन्डर २५६ रुपैयाँ ४९ पैसा लाग्छ भने निगमको खर्च ११ रुपैयाँ ३७ पैसा, बिक्रेताको खर्च एवम् मुनाफा ३ सय २६ रुपैयाँ १ पैसा जोड्दा लागत मूल्य १९ सय ६१ रुपैयाँ २२ पैसा पर्छ ।

यस आधारमा निगमलाई प्रतिसिलिन्डर ४ सय ६१ रुपैयाँ २२ पैसा घाटा छ। आन्तरिक तर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर ९६ रुपैयाँ कायम गरिएको छ। यसको खरिद मूल्य ७३ रुपैयाँ २४ पैसा हो । तर यसमा पनि निगमलाई ३ रुपैयाँ १० पैसा नाफा छ ।

नेपाललाई पेट्रोलियम पदार्थ बेच्ने इन्डियन आयल कर्पोरेशन आईओसीले १५–१५ दिनमा मूल्य समायोजन गर्छ । जस अनुसार निगमको नाफा घाटा १५ दिनपछि फरक पर्न सक्छ । तर पछिल्लो पटक गरेको मूल्य समायोजनपछि १५ दिनको घाटा १ अर्ब ८७ करोड रुपैयाँ हुने निगमले जनाएको छ ।

यसअघि अक्टोबर १६ को मूल्यसूचीअनुसार १५ दिनमा निगमको घाटा २ अर्ब २२ करोड रुपैयाँ थियो । पेट्रोलियम पदार्थ नेपालमा उत्पादन हुँदैन । यसको मूल्य अन्तर्राष्ट्रिय रुपमा नै घटबढ भइरहन्छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि घटाउन त सकिँदैन । तर सरकारले लिने कर केही घटाएर भए पनि उपभोक्तालाई राहत दिन सकिन्छ । र सरकारले पनि त्यसतर्फ सोच्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *