Political Hightlights

एमालेको दशौं महाधिवेशनअन्तर्गत आज देशभर पालिका अधिवेशन हुँदै

हिमालय टिभी
२०७८ कार्तिक ९ गते ७:५३
एमालेको दशौं महाधिवेशनअन्तर्गत आज देशभर पालिका अधिवेशन हुँदै

९ कात्तिक २०७८ काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले दशौं महाधिवेशन अन्तर्गत आज देशभरका पालिकामा अधिवेशन गर्दैछ ।

पालिका अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले दिउँसो एक बजे माइतीघरस्थित पार्टी केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यमबाट उद्घाटन गर्नु हुनेछ ।

बाढीपहिरोका कारण प्रभावित भएका बाहेक सबै पालिकाको अधिवेशन एकै पटक आयोजना हुन लागेको हो । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले ७ सय ५३ वटै स्थानीय तहको अधिवेशन एकै पटक गर्ने तयारी भए पनि बाढीपहिरोले प्रभावित पालिकामा भने आज अधिवेशन नहुने जानकारी दिनुभयो ।

कहाँ–कहाँ स्थगित गर्ने भनेर निर्णय गर्ने अधिकार जिल्ला कमिटीलाई नै दिइएको तामाङको भनाइ छ । आज ६ सयभन्दा बढी स्थानीय तहको नेतृत्व छनोट हुनेछ । एमाले विधान अनुसार गाउँपालिका तथा नगरपालिकामा बढीमा ७५ सदस्य रहेको कमिटी गठन गर्नसक्ने व्यवस्था छ ।

त्यसैगरी उपमहानगरपालिकामा ८५ र महानगरमा १ सय १ सदस्यीय पार्टी कमिटी गठन हुनेछ । कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव तथा उप सचिव १–१ जना निर्वाचित हुनेछन् । कमिटीमा ३३ प्रतिशत महिला हुनुपर्ने व्यवस्था छ ।

एमालेले गत शनिबार एकै पटक करिब ६ हजार वडामा अधिवेशन गरेको छ । बाँकी रहेका वडाको अधिवेशन पछि छिट्टै हुने एमालेले जनाएको छ ।

गत असोजमा ललितपुरको गोदावरीमा भएको पहिलो विधान महाधिवेशनबाट पारित गरेको विधानअनुसार स्थानीय तहको पार्टी नेतृत्व छनोटका लागि महाधिवेशन भएको हो । एमालेले आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा दशौं महाधिवेशन गर्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्