प्रदेश १ का मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
७ कात्तिक २०७८ विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशसभामा पेश गरेको विश्वासको मतमाथि आज मत विभाजन हुने भएको छ ।
प्रदेशसभाको गत शुक्रबारको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रस्ताव पेश गर्नुभएको थियो । त्यो प्रस्ताव पेश भए लगत्तै सभामुख प्रदीपकुमार भण्डारीले विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आज छलफल र मतविभाजन हुने जानकारी दिनुभएको थियो ।
दिउँसो साढे १२ बजेका लागि बैठक बोलाइएको छ । प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा आज छलफल र मतदान गर्ने सहमति भएको थियो ।
भदौ ९ मा मुख्यमन्त्री नियुक्त भएका आचार्य नेकपा एमाले विभाजनपछि अल्पमतमा हुनुहुन्छ । भदौ ९ मा एमाले विभाजित भएको भोलिपल्ट गठित सरकारले दल विभाजनको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने थियो ।
तर, संवैधानिक प्रावधानको आफू अनुकूल ब्याख्या गर्दै सरकारले आफ्नो आयु लम्ब्याउने प्रयास गरिरहेको थियो । कुल ९३ सदस्य रहेको प्रदेश सभामा सत्तारूढ एमालेका ४१ सांसद छन् ।
एक जना सभामुख र एक जना फरार सांसद घटाउँदा उसको मत संख्या ३९ मात्रै हुन्छ । संसदमा सामान्य बहुमत सिद्ध गर्न ४७ मत आवश्यक पर्छ ।
विपक्षी गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १० र जसपाका ३ जना गरी ४९ जना सांसद छन्।
प्रतिक्रिया