एमालेमा यसरी बल्झियो विवाद

६ कात्तिक २०७८ काठमाडौं । पार्टीको आधार संगठन मानिने वडाको अधिवेशन शुरु हुने एक दिनअघि एमाले बैठकमा पार्टीको विवाद बल्झिएको छ ।
स्थायी कमिटीको हिजोको बैठकमा १० बुँदे सहमति गर्नेमध्येका एक उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीका निर्णयमा फरक मत राख्दै कार्यदलबाट राजीनामाको घोषणा गर्नु भएको छ ।
असार २७ गते गरेको १० बुँदे सहमति कार्यान्वयनमा अध्यक्ष ओली नै असहमत भएको भन्दै रावल असन्तुष्ट बन्नु भएको हो । उपाध्यक्ष रावलले पार्टीको विधि, प्रक्रिया र निर्णय विपरीत दुई जना केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय गरेकोमा पनि फरक मत राख्नुभएको छ ।
प्रभु साहलाई मनाउन उनीनिकट दुई जनालाई केन्द्रीय सदस्य नियुक्त गरेको छ। स्थायी कमिटी बैठकले प्रभु साह निकटका पूर्व माओवादी रौतहटका कुन्दन कुसवाह र बाराका मोहम्मद समीरलाई नियुक्त गरेको थियो ।
रावललाई उपमहासचिव घनश्याम भुसालले साथ दिनुभएको छ । स्थायी कमिटीको दोस्रो दिन हिजोको बैठकमा १० बुँदेको कुरा उपमहासचिव भुसालले उठाउनु भएको थियो ।
एक स्थायी कमिटी सदस्यकाअनुसार अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटनदेखि नेताहरूलाई पटक–पटक कारबाही गरेको र २०७७ फागुन २८ गतेका निर्णयलाई लिएर आत्मआलोचना नगरेको भन्दै भुसालले कुरा उठाउनु भएको थियो ।
१० बुँदेलाई अक्षरश कार्यान्वयन गर्नका लागि गठित कार्यदलको संयोजकबाट राजीनामा नदिन रावललाई सुवासचन्द्र नेम्वाङ र शंकर पोरखेलले आग्रह गर्नु भएको थियो ।
स्थायी कमिटी सदस्य रघुजी पन्तले अहिलेसम्म भएका कुराको जस र अपजस अध्यक्ष ओलीले नै लिनुपर्ने धारणा राख्नु भएको थियो ।
प्रतिक्रिया