Political Hightlights

राजनीतिमा युवा आकर्षणः होला नेतृत्वमा हस्तक्षेपकारी भूमिका ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज २९ गते १६:१६
राजनीतिमा युवा आकर्षणः होला नेतृत्वमा हस्तक्षेपकारी भूमिका ? (भिडियो रिपोर्टसहित)

२९ असोज २०७८ काठमाडौं । पछिल्लो पटक राजनीतिमा युवाको आकर्षण मात्रै बढेको छैन, नेतृत्वले राजनीतिमा युवालाई महत्वपूर्ण अवसर पनि दिन थालेका छन् । राजनीतिमा युवाको आकर्षण र अवसरले उत्साह त थपेको छ । साथसाथै युवाहरुले पाएको अवसरलाई सदुपयोग गर्छन् कि गर्दैनन् ? राजनीतिमा युवाहरुले हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सक्छन् कि सक्दैनन् ? भन्ने प्रश्न पनि खडा भएको छ ।

केही समययता ठूला राजनीतिक दलले युवाहरुलाई पनि अवसर दिन थालेपछि राजनीतिमा युवाको प्रवेश र आकर्षण बढ्नु स्वभाविक छ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले युवालाई परिवर्तनका संवाहक भएको र युवाहरु आफ्नो गतिमा अघि बढ्ने पङ्ति भएको सार्वजनिक धारणा राख्दै गर्दा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले युवाहरु नेतृत्व लिन तयार रहे आफू पद छाड्न तयार रहेको सार्वजनिक अभिव्यक्ति दिनुभयो ।

त्यस्तै नेपाली कांग्रेसको जारी महाधिवेशनमा युवाहरुको ठूलो पङ्ति पार्टी राजनीतिमा प्रवेश गरेको छ । नेपाली कांग्रेसका नौ लाख बढी क्रियाशील सदस्यमध्ये चालीस वर्ष मुनिका युवाहरुको संख्या ४० प्रतिशत हाराहारीमा छ । त्यस्तै क्रियाशील सदस्य मात्रै नभएर वडा अध्यक्ष र नगरसभापति हुने युवाहरुको संख्या उल्लेखनीय छ । त्यस्तै नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि भएर आउने युवाहरुको संख्या पनि ठूलै देखिएको छ ।

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी मात्रै नभएर नेकपा माओवादी केन्द्रले पनि युवाहरुलाई पहिलो प्राथमिकतामा राखेको छ । युवाहरुलाई सोझै केन्द्रीय सदस्य बनाउने नीति लिएर युवालाई प्राथकितामा राख्ने पहिलो पार्टी माओवादी केन्द्र बनेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सार्वजनिक रुपमै युवाहरुलाई प्राथमिकतामा राख्ने पार्टीको नीति भएको बताउँदै आउनु भएको छ ।

विकसित देशमा प्रधानमन्त्री, राष्ट्रपति जस्ता कार्यकारी पदमा अहिले पनि चालीस वर्ष हाराहारी र कतिपय देशहरुमा त्यो भन्दा कम उमेरका व्यक्ति आसिन छन् । तर नेपालमा भने पचास वर्ष उमेर पुगेका व्यक्तिहरु पनि विद्यार्थी राजनीतिमा सक्रिय छन् । पार्टी राजनीतिमा अवसर नपाएपछि विद्यार्थी संगठनमै बसेर भए पनि राजनीति गर्नु कतिपयको बाध्यता देखिन्छ । पछिल्लो समय युवाहरु नेतृत्वको प्राथमिकतमा पर्न थालेपछि सकारात्मक परिवर्तनको आशा पलाएको विश्लेषक बताउँछन् ।

राजनीतिमा युवाको सहभागिताबारे वर्षौँदेखि बहस हुँदै आएको छ । हरेक परिवर्तनपछि वा पार्टीका हरेक महाधिवेशनका संघारमा युवा सहभागिताको बहस हुँदै आएको छ । राजनीतिमा युवाहरुले अवसर नपाएका पनि होइनन् ।

सांसद मात्रै नभएर मन्त्रीसम्म भएका युवाहरु पनि धेरै छन् । तर उनीहरु आफ्नो जिम्मेवारीमा खरो रुपमा उत्रिन नसकेर आलोचित बनेका उदारहण पनि छन् । पदमा पुग्ने युवाहरु पनि पुरानै दौराको फेरमा अल्झिएर गन्तव्यबाट विचलित भएको आरोप लाग्ने गरेको छ । युवायुवा भनेर फलाक्ने, धकेलेर नेतृत्वमा पुर्‍याउने तर जिम्मेवारी सम्हालेको दिनदेखि युवा चरित्रलाई चाकडीको तावामा सेकाउने काम नहोस् भन्ने आम चाहना छ ।

मुलुकको भविस्य नै युवा हुन् भनिन्छ । परिवर्तनका संवाहक पनि युवा नै हुन् भनिन्छ त्यसैले राजनीतिमा पनि युवाहरुको भूमिका अपरिहार्य छ । युवाहरुले जिम्वेवारी पाएको दलमा आम नागरिकको आकर्षणसमेत देखिन्छ ।

नयाँ सोच र नयाँ जोशसहित आएको व्यक्तिबाट आशा गर्नु स्वभाविक पनि छ । तर दलहरुले नयाँ भनिएकाहरुको विचारलाई पैतालामुनी राखेर आफ्नो हनुमान मात्र बनाउने खोज्ने चरित्र हाबी देखिन्छ । त्यसैकारण युवाको प्रवेश मात्र होइन युवाको चेत र विचारको उपस्थितिसमेत दलमा हुनु अहिलेको आवश्यकता हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्