खेलकूद

ईपीएलअन्तर्गत आजको दोस्रो खेलमा चितवनसँग ललितपुर ५ विकेटले पराजित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज १७ गते १७:२७
ईपीएलअन्तर्गत आजको दोस्रो खेलमा चितवनसँग ललितपुर ५ विकेटले पराजित (भिडियो रिपोर्टसहित)

१७ असोज २०७८ काठमाडौं । काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लीग (ईपीएल) अन्तर्गत दोस्रो खेलमा चितवन टाइगर्सले ललितपुर प्याट्रियट्सलाई ५ विकेटले पराजित गरेको छ ।

ललितपुरले दिएको १०९ रनको झिनो लक्ष्य चितवनले १७ ओभर २ बलमा ५ विकेट गुमाएर भेट्टायो । तेस्रो ओभरमा ओपनर खडक बोहोरालाई शुन्यमै गुमाएको चितवनका लागि अर्का ओपनर मोहमद शाहजादले ३५ रन बनाए ।

२८ बलमा ४ चौका र २ छक्का बनाएका शाहजाद नवौं ओभरमा रिजन ढकालको बलमा पवन सर्राफबाट क्याच भए । त्यस्तै, भीम सार्कीले २७ र विरन्दीप सिंहले १३ रन जोडे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले पुरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा मात्र १०८ रन बनायो । जारी प्रतियोगितामा खराब लयबाट गुज्रिरहेका ललितपुरका कप्तान कुशल भुर्तेल यो खेलमा टिक्न सकेनन् । दोस्रो ओभरमै कमल सिंह ऐरीको बलमा कुशल १ रन बनाउँदै करिम जन्नतबाट क्याच आउट भए ।

लगातार विकेट पतन भएपनि जयकिसन कोल्सावालाले ललितपुरको पाली सम्हाल्ने कोशिस गरे । ३३ बलमा ४२ रन बनाएका कोल्सावाला १४ औं ओभरको अन्तिम बलमा पेभेलियन फर्किए ।

ललितपुरका लागि सान्दुन विराक्कोडीले १४ र तल्लो क्रममा सूर्य तामाङले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा चिवतनका कमलले ३, करिन जन्नत र सागर ढकालले २९२ विकेट लिँदा शाहब आलमको नाममा १ विकेट रह्यो ।

यस्तै आजै भएको पहिलो खेलमा सान्त्वना जित निकाल्दै विराटनगर वारियर्स् चौंथो संस्करणको एभरेष्ट प्रिमियर लीग ९ईपीएल०बाट बाहिरिएको छ ।

प्रतियोगितामा आफ्नो अन्तिम खेलमा विराटनगरले काठमाडौं किङ्स इलाभेनलाई ७ रनले हराएको हो । मैदान भिजेका कारण ढिला गरी शुरु भएको खेल ८ ओभरमा झारिएको थियो ।

जहाँ विराटनगरले दिएको १ सय ५ रनको लक्ष्य पछ्याएको काठमाडौंले पुरै ८ ओभर खेल्दै ३ विकेट गुमाएर ९७ रन मात्र बनाउने सक्यो ।

काठमाडौंका लागि ओपनर रहमानउल्लाह गुरबाजले २८ रन बनाए । तर छैटौं ओभरमा रायन पठानले लगातार दुई विकेट लिएपछि काठमाडौंको ३ विकेटको क्षतिमा ६४ रन मात्र थियो ।

मध्यक्रममा सुवाष खकुरेलले नटआउट २६ रनको योगदान दिए पनि जितका लागि पर्याप्त भएन । अर्का ओपनर राजु रिजाल २४ रनमा नटआउट रहे । बलिङमा रायन पठानले २ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस गुमाएर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित ८ ओभरमा ५ विकेट गुमाएर १ सय ४ रन बनायो ।

विराटनगरका लागि अनिल साहले नटआउट ४५ रनको योगदान दिए । ओपनर रायन पठान ३० रन बनाउँदै आउट हुँदा कप्तान करन केसीले १५ रन जोडे ।

पहिलो जितसँगै विराटनगर ५ खेलमा २ अंक जोड्दै तालिकाको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । काठमाडौंको भने ३ खेलबाट समान २ अंक छ ।

यसअघिनै प्लेअफमा पुगिसकेको चितवन ४ खेलबाट ८ अंकसहित तालिकाको शीर्षस्थानमा छ । पराजित ललितपुर चौंथो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्