Political Hightlights

विधान महाधिवेशनमा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा के छ ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज १५ गते २१:०२
विधान महाधिवेशनमा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा के छ ? (भिडियो रिपोर्टसहित)

१५ असोज २०७८ काठमाडौं । नेकपा एमालेको प्रथम विधान महाधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेश गर्नु भएको रानजीतिक प्रस्तावसंगै शुरु भयो । ओलीले पेश गर्नु भएको राजनीतिक प्रस्तावमा पार्टी विभाजनदेखि संसद विघटन र सरकारको आलोचनासम्म समेटिएका छन् । साथै प्रतिवेदनमा पार्टी विभाजनमा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई दोषी देखाइएको छ भने संसद विघटनको बचाउ गरिएको छ ।

नेकपा एमालेको ऐतिहासिक विधान महाधिवेशन ललितपुरको गोदावरीमा शुरु भएको छ । देशभरबाट ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी महाधिवेशनको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पेश भयो ।

४४ पृष्ठ लामो प्रतिवेदनमा राष्ट्रिय राजनीतिदेखि अन्तर्राष्ट्रि परिदृश्यसम्म समेटिएका छन् । अध्यक्ष ओलीले पार्टी विभाजनको मुख्य कारक पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाललाई बनाउनुभएको छ । एमाले र माओवादी केन्द्रबीच एकीकरण भए पनि त्यसपछि प्रचण्डले आफ्नो निवासलाई गुटगत भेला गर्नका लागि मुख्यालय बनाएको आरोप लगाइएको छ । पार्टीभित्रका समस्या समाधानका लागि विभिन्न सहमति गरे पनि घेराबन्दीमा पारेर नेतृत्व हत्याउन खोजिएको गंभीर आरोप पनि लगाउनु भएको छ । प्रतिवेदन प्रस्तुत गरिरहेका अध्यक्ष ओलीले स्वास्थ्यको कारण देखाउँदै बाँकी अंश नेता शंकर पोखरेललाई बाचन गर्न लगाउनुभयो ।

अध्यक्ष ओलीको प्रतिवेदनमा आफ्नै पार्टीका नेताहरुले आफू नेतृत्वको सरकार हटाएर देशी विदेशीको चलखेल गर्ने र अस्थिरता निम्त्याउने प्रयास गरेकाले संसद विघटन गर्नु परेको उल्लेख छ । अनि संसद विघठनको बचाउ गरिएको छ ।

प्रतिवेदनमा पार्टी विभाजन गरी नयाँ पार्टी गठन गरेका माधवकुमार नेपालप्रति कडा टिप्पणी गरेका ओलीले प्रचण्डलाई अवसरवादी र अस्थिरतावादीको संज्ञा दिनु भएको छ ।

प्रतिवेदनमा आफू नेतृत्वको सरकारले अभूतपूर्व काम गरेको र अहिलेको सरकारले आफूले गरेको कामहरु उल्टाउने काम गरेको आरोप लगाउनु भएको छ । जननिर्वाचित सरकारलाई हटाएर अदालतको परमादेशबाट बनेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले जनविरोधी काम गरिरहेको ओलीले आरोप छ ।

संविधानसभाबाट संविधान बन्न नदिन नेपालमा राजनीतिक दलहरुमाथि ठूलो दबाव आएको ओलीले राजनीतिक प्रतिवेदनमा स्मरण गर्नुभएको छ । मधेसकेन्द्रीत दलका केही नेताले संविधान निर्माणमा बाह्य हस्तक्षेपको मागसमेत गरेको उहाँको भनाइ छ ।

चीनप्रति नरम देखिएका ओलीले अमेरिकाले अघि सारेको इण्डो प्यासेफिक रणनीति विश्व प्रतिस्पर्धाको केन्द्र एसिया प्रशान्त क्षेत्र लक्षित रहेको बताउनुभयो ।

सीमा व्यवस्थापन लगायत मुद्दामा छिमेकीको जायज चासोप्रति नेपालले सम्मान गर्ने र त्यस्तै सम्मान मित्रराष्ट्रबाट पनि चाहेको ओलीको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्