एनभीए क्लब भलिबल च्याम्पियनसिप असोज १० देखि हुने
३० भदौ २०७८ काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा हुने एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोजमा १० देखि हुने भएको छ ।
संघले आज पत्रकार सम्मेलन गर्दै एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको छैटौं संस्करण असोज १० देखि १६ गतेसम्म आयोजना गर्न लागेको जानकारी दिएको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आयोजना हुने प्रतियोगितामा पुरुषतर्फ १२ र महिलातर्फ ६ क्लबको सहभागिता रहने छ । तर यसमा केही टोली थपिन सक्ने संघले बताएको छ ।
यस प्रतियोगिताका पुरुषतर्फ उत्कृष्ट ७ र महिलातर्फ ५ क्लबले एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लीग भलिबल च्याम्पियनसिपमा स्थान बनाउने छन् ।
क्लब लीग भलिबल च्याम्पियनसिप चैतमा आयोजना गर्ने संघको तयारी छ । त्यस्तै यस पटक प्रतियोगिताको पुरस्कार राशिमा पनि वृद्धि गरिएको छ । यस पटक विजेताले ४ लाख र उपविजेताले २ लाख पाउने छन् भने तेस्रो हुनेले १ लाख प्राप्त गर्नेछ ।
प्रतिक्रिया