सुदूरपश्चिम प्रदेश संयोजक विवादमा एमालेभित्र दशबुँदे धरापमा

२७ भदौ २०७८ काठमाडौं । सुदूरपश्चिम प्रदेश पार्टी संयोजक कसलाई बनाउने भन्ने विषयमा विवाद भएपछि नेकपा एमालेमा एकताबद्ध बनाउन गरिएको १० बुँदे सहमति कार्यान्वयनमा जटिलता देखिएको छ।
स्थायी कमिटी सदस्य भीम रावल र लेखराज भट्ट दुबैले सुदूरपश्चिम प्रदेशको संयोजक बन्ने अडान लिएपछि सहमति कार्यान्वयनमा असहजता उत्पन्न भएको हो।
विवाद समाधानका लागि रावल, भट्ट र अर्का नेता कर्ण थापा छुट्टै आन्तरिक छलफलमा बसे पनि साम्य हुन नसकेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगै बस्नुपर्ने स्थिति उत्पन्न भएको छ।
छिट्टै ओलीसँग छलफल गरेर विवाद टुंगो लगाउने तयारी छ । पहिले एमालेदेखि नेकपा हुँदासम्म रावल सुदूरपश्चिम इन्चार्ज हुनुहुन्थ्यो ।
तर पछि रावल माधवकुमार नेपाल समूहमा लागेपछि एमाले माओवादीबाट एमाले प्रवेश गरेका भट्टलाई अध्यक्ष ओलीले इन्चार्ज बनाउनु भएको थियो । तर अहिले दुबै नेता एउटै पार्टीमा भएपछि संयोजन गर्न समस्या भएको हो ।
प्रतिक्रिया