आर्थिक

क्वारन्टिन नभएका भन्सारबाट कृषि उपजको आयात रोकियो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २६ गते १४:३९
क्वारन्टिन नभएका भन्सारबाट कृषि उपजको आयात रोकियो (भिडियो रिपोर्टसहित)

२६ भदौ २०७८ कपिलवस्तु । भन्सार विभागले गत साउन २० गतेदेखि व्यापार सहजीकरणका लागि लागू गरेको नेपाल राष्ट्रिय एकद्वार प्रणालीका कारण कपिलवस्तुको सुठौलीसहित देशैभरका २४ भन्सार कार्यालय प्रत्यक्ष प्रभावित भएका छन् ।

देशभरका ३९ मुल भन्सारमध्ये १५ वटा भन्सारमा मात्रै पशु, खाद्य र प्लान्ट क्वारन्टिन कार्यालय छन् । नेपाल राष्ट्रिय एकद्वार प्रणालीका कारण क्वारन्टिन नभएका भन्सारबाट कृषि उपजको आयात रोकिएको छ ।

देशभरमै सबैभन्दा बढी कृषि उपज आयात हुँदै आएको कपिलवस्तुको सुठौली भन्सार कार्यालय क्वारेन्टाईन नहुँदा सुनसान बन्न थालेको छ । सदरमुकाम जोडिएको यो भन्सारले गत वर्ष ५३ करोड रुपैयाँ राजश्व असुल्ने लक्ष्य लिए पनि झन्डै तेब्बर बढी १ अर्ब ५१ करोड रुपैयाँ राजश्व संकलन गरेको थियो ।

तीन बर्ष अघि मुल भन्सारमा स्तरोन्नती भएको यो भन्सारमा अहिले भने प्लान्ट क्वारेन्टाइन नहुँदा समस्या भएको छ । कृषि उपज आयात गर्दा भन्सारले प्रज्ञापनपत्र जारी गर्नु पूर्व क्वारेन्टाइन प्रतिवेदन अनिवार्य छ । एकद्वार प्रणाली लागु भएसँग प्लान्ट क्वारेन्टाइनको सफ्टवेयरमा क्वारेन्टाइन सुविधा भएका १५ भन्सार मात्रै छन । जसले गर्दा यहाँबाट कृषि उपजको आयात रोकिएको छ ।

यसअघि कृष्णनगरमा रहेको क्वारेन्टिनको कार्यालयबाट कृष्णनगर नै ईन्ट्री–प्वाइन्ट देखाएर कारोवार भए पनि क्वारेन्टाइनले आयात प्रतिवेदन बनाउने गरेको थियो । मुल भन्सारमा स्तरोन्नती भएको सुठौली भन्सारमा स्थापनाकै बेला आवश्यक पूर्वाधारको रुपमा रहेको क्वारेन्टाइन नबनाइदा समस्या भोग्नु परेको छ ।

सुठौली भन्सार नाकाबाट तरकारी, फलफूल, धान, चामल, गहुँ, मकै लगायतका कृषि उपजका मालवस्तु सबै भन्दा बढी आयात हुँदै आएको कर्मचारीको भनाइ छ । क्वारेन्टाइनमा जाँचपास गर्ने कार्य हुँदै आएकोमा एकद्धार प्रणाली लागू भएपछि सुठौली भन्सार नाका हुँदै कृषि उपज आयात गर्न रोकिदा समस्या आएको सुठौली भन्सार कार्यालयका प्रमुख बताउनुहुन्छ ।

मूल भन्सार हुनका लागि क्वारेन्टाइन कार्यालय अनिवार्य पूर्वाधार मध्येको एक हो । त्यसैले सुठौली सहितका अन्य भन्सारमा तत्कालै क्वारेन्टाईन कार्यालय स्थापना गरेर वा सबै भन्सारलाई क्वारेन्टाइनको सफ्टवेयरमा ईन्ट्रि–प्वाइन्ट राखेर सो समस्या समाधान गर्न सकिने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *