एमाले स्थायी कमिटी बैठक बस्दै

२६ भदौ २०७८ काठमाडौं । नेकपा एमालेले विधान महाधिवेशनका दस्तावेजमाथि छलफल र नेताको कार्यविभाजन हेरफेर गर्न स्थायी कमिटी बैठक बस्दैछ ।
हिजोका लागि बोलाइएको बैठक संसद बैठकका कारण आजका लागि सारिएको हो । बिहान ९ बजे च्यासल ललितपुरमा बस्ने बैठकमा विधान महाविधेशनमा प्रस्तुत हुने प्रस्ताव तथा तयारीको बारेमा छलफल हुने केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिनुभयो ।
एमालेले विधान महाधिवेशन असोज ४ र ५ गते काठमाडौंमा गर्ने तालिका तय गरेको छ । त्यसअघि विधान मस्यौदामाथि छलफल गरेर सुझाव मागिएको छ । स्थायी कमिटी बैठकले प्रस्तावमाथि छलफल गरेर आवश्यक सुझावसहित केन्द्रीय कमिटी बैठकमा पेश गर्नेछ ।
एमालेको केन्द्रीय कमिटी बैठक असोजर १ र २ गते बस्ने बताइएको छ । विधान मस्यौदामा प्रस्तावित कतिपय विषय स्थायी कमिटीमा सहमतिका आधारमा हेरफेर हुन सक्ने नेताहरुले बताएका छन् ।
आजको बैठकले स्थायी कमिटीका नेताको जिम्मेवारी समेत हेरफेर गर्ने सम्भावना छ । माधवकुमार नेपाल छाडेर एमालेमै बसेका नेताहरुको जिम्मेवारी परिभाषित नभएकाले स्थायी कमिटीले यसबारे टुंगो लगाउने बताइएको छ ।
प्रतिक्रिया