Political Hightlights

मन्त्रिपरिषद् चाँडै विस्तार गर्ने सत्ता गठबन्धनको निर्णय

हिमालय टिभी
२०७८ भदौ २५ गते १४:०४
मन्त्रिपरिषद् चाँडै विस्तार गर्ने सत्ता गठबन्धनको निर्णय

२५ भदौ २०७८ काठमाडौं । सत्ता गठबन्धनको बैठकले मन्त्रिपरिषद् विस्तार चाँडै टुङ्ग्याउनबारे छलफल गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सत्ता गठबन्धन शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरुको नाम छिटो दिन गठबन्धनका नेताहरुलाई आग्रह गर्नुभएको थियो ।

बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिला भएको भन्दै छिटो मन्त्रीको नाम दिन गठबन्धनका नेतासँग आग्रह गर्नुभएको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पोडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे बढीसमय छलफल भयो, साथै गठबन्धनलाई अझै परिस्कृत गरेर लैजाने तथा संसद्मा विधेयक टेबुल गर्नेबारे पनि कुराकानी भएको छ । साँझ ६ बजे बैठक पुनः बस्नेगरी सकिएको छ ।”

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन आ–आफ्नो पार्टीमा सल्लाह गरेका मन्त्रीहरुको नाम चाँडो टुग््याउन आग्रह गर्नुभएको थियो । बैठकमा प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलको उपस्थिति थियो ।

नेपाली कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले गत असार २९ गते प्रधानमन्त्री पदको शपथ ग्रहण गर्नुभएको थियो । त्यसयता करिब दुई महिनाको अवधिमा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

अहिले सरकारमा चार मन्त्री र एक राज्यमन्त्री मात्र हुनुहुन्छ । मन्त्रिपरिषद्लाई चाँडो पूर्णता दिन प्रधानमन्त्री देउवालाई पार्टीभित्रैबाट दबाब छ । यसअघि बिहीबार पनि मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक परिस्थितिबारे गठबन्धनका नेताबीच छलफल भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्