Political Hightlights

एकीकृत समाजवादीद्वारा स्थायी कमिटी, सचिवालय र प्रदेश इञ्चार्ज चयन

हिमालय टिभी
२०७८ भदौ २० गते १३:२३
एकीकृत समाजवादीद्वारा स्थायी कमिटी, सचिवालय र प्रदेश इञ्चार्ज चयन

२० भदौ २०७८ काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी, सचिवालय सदस्य र प्रदेश इञ्चार्जहरु चयन गरेको छ ।

राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नहुँदासम्मका लागि काम गर्न भन्दै जिम्मेवारी बाँडफाँट गरिएको हो ।

एकीकृत समाजवादीको अन्तरपार्टी निर्देशिकामा उल्लेख भएअनुसार पार्टी अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनालसहित पहिले नेकपाको स्थायी कमिटीमा रहेकाहरुलाई नेकपा एकीकृत समाजवादीले स्थायी कमिटीमै राखेको हो ।

स्थायी कमिटीमा नेपाल र खनालसहित मुकुन्द न्यौपाने, डा बेदुराम भुसाल र प्रमेश हमाल हुनुहुन्छ । पार्टीको दैनिक कार्य सम्पादन गर्नका लागि भुसालको संयोजकत्वमा प्रमेश हमाल, राजेन्द्र पाण्डे, डाक्टर गंगालाल तुलाधर, डाक्टर विजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठसहितको सचिवालय गठन गरिएको छ ।

केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी तुलाधरलाई दिइएको छ । प्रदेश १ को इञ्चार्जमा घनेन्द्र बस्नेत, २ मा धर्मनाथ साह, बागमतीमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भागवत विश्वासी र कर्णालीमा प्रकाश ज्वाला हुनुहुन्छ ।

सुदूरपश्चिम प्रदेश इञ्चार्ज भने तोकिएको छैन । उपत्यका विशेष प्रदेश इञ्चार्जको जिम्मेवारी विश्वनाथ प्याकुरेललाई, सम्पर्क विशेष प्रदेश इञ्चार्ज विजय गुरुङ, मोर्चा इञ्चार्ज डा विजय पौडेललाई दिइएको छ ।

प्रचार विभाग प्रमुखमा जगन्नाथ खतिवडा र प्रवास क्षेत्रको इन्चार्जमा श्रीप्रसाद साहलाई जिम्मेवारी दिइएको छ ।

पार्टीको राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन लागायतका दस्तावेज मस्यौदा गर्न झलनाथ खनालको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्