कल्याणकुमार गुरुङद्वारा कांग्रेस केन्द्रीय सभापतिमा उम्मेदवारी घोषणा

१६ भदौ २०७८ काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले पार्टीको १४ औँ महाधिवेशनमा पार्टीमा केन्द्रीय सभापतिमा उम्मेद्वारी घोषणा गर्नुभएको छ ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केन्द्रीय सदस्य गुरुङले पार्टीमा युवा पुस्ता नेतृत्व लिन सक्षम रहेको भन्दै आफूले केन्द्रीय सभापतिमा उम्मेद्वारी दिने बताउनुभएको हो । उहाँले शासन व्यवस्थामा परिवर्तन आए पनि सोचमा परिवर्तन आउन नसकेकाले युवा पुस्ताले नेतृत्व लिएर सोचहरुमा परिवर्तन ल्याउनुपर्ने बेला भएको बताउनुभयो ।
केन्द्रीय सदस्य गुरुङले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा नयाँ पुस्ताले पार्टीको नेतृत्व गर्नुपर्ने बताउनुभयो । उहाँले बिपी कोइराला, गिरिजाप्रसाद कोइराला, गणेशमान सिंह लगायतका नेताहरुले युवावस्थामै नेतृत्व गरेको पार्टीमा अहिले किन युवा पुस्ता हाबी हुन नसकेको भन्ने दबाव देशभरबाट आएपछि आफूले १४ औँ महाधिवेशमा केन्द्रीय सभापतिमा उम्मेद्वारी दिन लागेको बताउनुभयो ।
केन्द्रीय सदस्य गुरुङले सभापतिमा निर्वाचित भएपछि किसान, दलित जनजाती, आदिवासी, मुस्लिम संघ, थारु संघ सबै समुदायलाई समेटेर नेपाली काँग्रेसलाई समावेशी पार्टी बनाउने बताउनुभयो । उहाँले नेपाली काँग्रेस भित्र सबैले न्यायको अनुभूति, न्याय, राजनीतिक सुरक्षा प्राप्त गर्ने पार्टीको रुपमा वातावरण सिर्जना गर्ने बताउनुभयो । पार्टीको सभापति बनेमा नेपाली काँग्रेसबाट समानुपातिक सांसद एकपटकको लागि मात्र हुने वैधानिक व्यवस्था गर्ने र देशको संंविधानमा पनि दुई पटक मात्रै मन्त्री र प्रधानमन्त्री हुने पहल गर्ने पनि उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पार्टीमा आउने नेविसंघ, आदिवासी, जनजाती, मुस्लिम संघका साथीहरु, थारु संघका साथीहरु, जतिपनि हुनुहुन्छ, खस, आर्य, लगायत पिछडीएको क्षेत्र, सबै समुदायलाई म समेटेर नेपाली काँग्रेसलाई समावेशी पार्टी बनाउँछु । ’
केन्द्रीय सदस्य गुरुङले अहिले ६० वर्ष र त्योभन्दा कम उमेरमा केन्द्रीय सभापतिको दाबी गर्ने आफू मात्रै भएको भन्दै अन्य साथीहरुले पनि केन्द्रीय सभापतिको दाबी गरे आफू खुशी हुने बताउनुभयो ।
उहाँले नेपाली कांग्रेसको केन्द्रीय सभापति भनेको भोलि देशको वैकल्पिक प्रधानमन्त्री भएकाले सभापतिको दाबी गर्दा यसलाई मनन गरेर मात्रै दाबी गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया