Political Hightlights

कांग्रेसको पौडेल पक्षीय जिल्ला सभापतिहरुको अनशन आज तोडिँदै

हिमालय टिभी
२०७८ भदौ १२ गते १३:१०
कांग्रेसको पौडेल पक्षीय जिल्ला सभापतिहरुको अनशन आज तोडिँदै

१२ भदौ २०७८ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूको अनशन आज तोडिने भएको छ ।

क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने, जिल्ला सभापतिको उम्मेदवारका बारेमा बनाइएको दोहोरो मापदण्ड खारेज गर्नुपर्ने लगायतका माग राखेर जिल्ला सभापतिहरु चार दिनदेखि रिले अनशनमा थिए ।

हिजो साँझ सभापति शेरबहादुर देउवासँग नेता पौडेलको भेटवार्ताका क्रममा माग सम्बोधन गर्ने बताएपछि जिल्ला सभापतिहरुको रिले अनशन आजदेखि रोकिने कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहले जानकारी दिनुभयो ।

सभापति देउवासँगको सहमतिबारे ब्रिफिङ गर्न पौडेल समूहका नेताहरुको आज बिहान छलफल भएको थियो । सिंह निवास चाक्सीबारीमा बसेको पौडेल समूहको बैठकले जिल्ला सभापतिहरुलाई अनशन तोड्न आग्रह गरेको हो ।

जिल्ला सभापतिहरुको अनशन टुंग्याउने जिम्मेवारी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मीनेन्द्र रिजाल र रमेश लेखकलाई दिइएको छ । सिटौला, रिजाल र लेखकले पार्टी कार्यालय सानेपा पुगेर जिल्ला सभापतिहरुको माग सम्बोधन गर्ने बताइएको छ ।

कांग्रेस पार्टी कार्यालय सानेपामा ४० दिनदेखि धनुषा, रौतहट, सर्लाहीका नेता कार्यकर्ताहरु पनि धर्नामा छन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शुक्रबारसम्म ४८ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्