Political Hightlights

नेकपा एमालेभित्रको विवाद अब यसरी सबै प्रदेशमा देखिँदै

हिमालय टिभी
२०७८ भदौ १० गते ७:४७
नेकपा एमालेभित्रको विवाद अब यसरी सबै प्रदेशमा देखिँदै

१० भदौ २०७८ काठमाडौं । नेकपा एमालेमा देखिएको विवाद देशका सबै प्रदेशमा देखिन थालेको छ। एमालेका दोस्रो तहका १० नेता एमालेमा फर्किएपछि प्रदेश १ को सरकार पनि फेरिने भएको छ।

वरिष्ठ नेता माधवकुमार नेपालले एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी) पार्टी बनाएको भोलिपल्ट प्रदेश १ मा शेरधन राईले करिब साढे तीन वर्ष लामो सत्ता यात्रा टुंगाउन लाग्नु भएको छ ।

राईले आफ्नो सत्ता यात्रालाई टुंगोमा पुर्‍याउन आज बिहान एमाले प्रदेश १ संसदीय दलको बैठक बोलाउनु भएको छ । काठमाडौंमा एमाले केन्द्रीय कमिटी बैठक समेत रहेकाले त्यस अघि पार्टीको द्वन्द्व सकिएको सन्देश दिन मुख्यमन्त्रीमा भीम आचार्य आउन सक्ने चर्चा प्रदेश १ मा भइरहेको छ।

उक्त बैठकमा मुख्यमन्त्री राईले प्रदेश १ एमाले संसदीय दलको नेताबाट राजीनामा दिने तयारी छ । त्यही बैठकबाट यसअघि मुख्यमन्त्रीका लागि प्रतिस्पर्धा गरेका आचार्यलाई दलको नेता बनाइनेछ ।

राईले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि आचार्यलाई मुख्यमन्त्री बन्ने बाटो खुल्नेछ । राई एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट मानिनुहुन्छ । आचार्य भने वरिष्ठ नेता झलनाथ खनालनिकट हुनुहुन्छ।

खनाल दिल्ली जानु अघिसम्म आचार्य नेपाल–खनाल समूहमै हुनुहुन्थ्यो । तर पछिल्लो समय नेपालले पार्टी फुटाउने कुरामा असहमति राख्दै आचार्य एमालेमै रहनु भएको छ ।

प्रदेश १ मा एमालेका ५१ सांसद रहेका छन् । जसमा ६ देखि ७ जना सांसद नेपाल नेतृत्वको नेकपा समाजवादीमा जान तम्तयार रहेका बताइन्छ। नेपाल पक्षले भने कम्तीमा १३ सांसद आफ्नो पक्षमा खुल्ने बताउँदै आएको छ। ५१ सांसदमध्ये अहिलेसम्म ४ जना नेपालको नेकपा समाजवादीमा खुलिसकेका छन्।

प्रदेश १ मा कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टीका १ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन्। सत्ता गठबन्धनले भने एकीकृत समाजवादीबाट राजेन्द्र राईलाई मुख्यमन्त्रीमा अघि सार्ने तयारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्