Political Hightlights

विचार मिल्नेसँग सहकार्यसँगै एकता गर्ने माओवादी स्थायी समिति बैठकको निर्णय (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ ६ गते २०:३४
विचार मिल्नेसँग सहकार्यसँगै एकता गर्ने माओवादी स्थायी समिति बैठकको निर्णय (भिडियो रिपोर्टसहित)

६ भदौ २०७८ काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले विचार मिल्ने सबै कम्युनिष्ट घटकसँग सहकार्य एवम् एकता गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले समान विचार भएका वामपन्थी पार्टीसँग सहकार्य, एकता गर्दै नयाँ कम्युनिष्ट पार्टीको अवधारणाका साथ अगाडि बढ्ने निर्णय गरेको हो ।

तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रका बीचमा चुनावी गठबन्धन र पार्टी एकतासमेत भएको थियो । एकता प्रक्रिया तीन वर्ष पूरा नहुँदै टुटेपछि नयाँ आधारमा कम्युनिष्ट पार्टीबीचको एकता र सहकार्यलाई अगाडि बढाउने माओवादीले निष्कर्ष निकालेको छ । विचार मिल्ने सबै वामपन्थी पार्टी र समूहसँग सहकार्य गर्दै एकताको प्रक्रिया अगाडि बढाउने बैठकको निष्कर्ष रहेको माओवादीले जनाएको छ ।

बैठकले पार्टीका विभागीय प्रमुख तोकेको छ । जिल्ला इन्चार्ज तोक्ने जिम्मा भने प्रदेश समितिलाई दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । केन्द्रीय समितिको बैठकको दिशानिर्देशअनुसार आज विभागीय प्रमुख, प्रदेश प्रमुख तोकिएको हो ।

माओवादीले सात प्रदेशका इन्चार्ज र अन्य विभागका प्रमुख तोकेर पार्टी सङ्गठनको कामलाई प्रभावकारी बनाउन लागिएको जनाएको छ । माओवादीले जिल्ला समितिलाई जिल्ला समन्वय समितिमा रुपान्तरण गरेको छ । सोही आधारमा जिल्ला इन्चार्ज तोकेको छ ।

त्यस्तै, केही जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ । केन्द्रीय प्रतिनिधिले पार्टी सङ्गठनको काम सम्हाल्नेछ । माओवादीले सङ्घीय, प्रदेश र स्थानीय समिति बढी कामकाजी बनाउन लागेको छ । जिल्ला समितिलाई प्रदेश र स्थानीय तहको समन्वय गर्ने जिम्मा मात्रै दिइएको छ । यस्तै, माओवादी छाडेर एमाले प्रवेश गरेका नेताको सट्टामा अन्य नेतालाई जिम्मेवारी दिएर परिपूर्ति गरिएको छ ।

यस्तै, माओवादीले वडा, पालिका र प्रदेश अधिवेशनको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । अधिवेशनका लागि आवश्यक पर्ने नियमावली र निर्देशिका तयार पार्ने काम जारी रहेको छ । ती तयार भएपछि तल्ला तहमा पठाइनेछ ।

माओवादीले पार्टीको सङ्गठन विस्तारका साथसाथै राष्ट्रिय स्वाधीनताको रक्षाको विषय, तत्काल कोभिड महामारीमा जनतालाई सहयोग गर्ने विषय र कोभिडसँग जुध्न एकताबद्ध हुने विषयलाई पनि प्रमुख प्राथमिकताका साथ अगाडि बढाउने भएको छ ।

त्यसैगरी माओवादीले ‘प्रतिगमन’प्रति सचेत रहँदै शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक भेदभावको अन्त्य, उत्पादन, रोजगारी, पर्यावरणको रक्षा, विज्ञान प्रविधिको अधिकतम प्रयोगजस्ता विषयमा ध्यान केन्द्रित गर्न सिङ्गो पार्टी कमिटीलाई निर्देशित गरिएको जनाएको छ । फरक एक प्रसङ्गमा प्रवक्ता श्रेष्ठले निर्वाचन आयोगले नयाँ दल दर्ताको प्रक्रिया सम्पन्न गरेलगत्तै मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्