एमालेद्वारा वरिष्ठ नेता नेपालसहित १४ जना सांसदमाथि कारबाही (भिडियो रिपोर्टसहित)

१ भदौ २०७८ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको छ ।
एमालेले माधवकुमार नेपालसहितका १४ जना सांसदलाई पदबाट हटाउन भन्दै संसद सचिवालयमा पत्र बुझाएको छ ।
पार्टीको ह्विप उल्लंघन गरेको भन्दै वरिष्ठ नेता नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरीलगायतलाई पदमुक्त गर्न एमालेले संसद सचिवालयमा पत्र बुझाएको हो ।
पदमुक्त गर्न भनिएका अन्य सांसदमा निरादेवी जैरु, मेटमणी चौधरी, भवानी खापुङ, कलिला खातुन, विरोध खतिवडा, पुष्पाकुमारी कर्ण, सरला यादव र कृष्णलाल महर्जन हुनुहुन्छ ।
एमालेले आजै पार्टी निर्णयको आधिकारिक माइन्युट भन्दै एमालेको संस्थापन पक्षले केन्द्रीय सदस्यको नाम थपेर आयोगमा विवरण बुझाएको छ ।
एमाले नेता अग्नि खरेल र बाबुराम दाहालसहितको टोलीले आज निर्वाचन आयोग पुगेर केन्द्रीय कमिटीको विवरण अद्यावधिक गर्न लिखित आग्रह गरेको निर्वाचन आयोग स्रोतले जनाएको छ ।
२०७५ जेठ २ अघि २ सय ३ सदस्यीय केन्द्रीय कमिटी रहेको एमालेमा थपेर २ सय ६० पुर्याइ त्यसको विवरण आयोगमा पठाइएको छ । तर आयोगले अद्यावधिक गर्ने नगर्नेबारे निर्णय गर्न अझै केहीदिन लाग्ने जनाएको छ ।
प्रतिक्रिया