Political Hightlights

वाम लोकतान्त्रिक गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजाने माओवादीको प्रस्ताव

हिमालय टिभी
२०७८ साउन ३० गते १८:५७
वाम लोकतान्त्रिक गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजाने माओवादीको प्रस्ताव

३० साउन २०७८ काठमाडौं । नेकपा(माओवादी केन्द्र) ले वाम लोकतान्त्रिक गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजाने प्रस्ताव गरेको छ ।

आजदेखि शुरु भएको केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रस्ताव पेश गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा, प्रतिगमनविरुद्धको लडार्इं, एवं मुलुकको समस्या समाधानका लागि पनि गठबन्धनको निरन्तरता अत्यावश्यक रहेकामा जोड दिनुभएको छ ।

अध्यक्ष दाहालले पेश गर्नुभएको प्रतिवेदनमा भनिएको छ, “अहिलेको लोकतान्त्रिक राजनीतिक प्रणाली, प्रणाली, संविधान र राष्ट्रियताको रक्षा गर्दै देशमा आर्थिक समृद्धि, स्थायित्व र सुशासन कायम गर्न निर्माण गरिएको गठबन्धनलाई यहीरूपमा बुझ्ने र आगामी निर्वाचनसम्म कम्तीमा पनि कायम राख्ने पार्टीको नीति हुनेछ ।”

अध्यक्ष दाहालको प्रतिवेदनमा अगाडि भनिएको छ, “प्रतिगमनका विरुद्ध सङ्घर्षकै क्रममा वाम लोकतान्त्रिक गठबन्धन निर्माण भएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि प्रहार गर्दै प्रतिगमन गर्ने प्रवृत्तिलाई गठबन्धनले पराजित गरेको छ । यसलाई नरुचाउने शक्ति गठबन्धनलाई कमजोर पार्ने र भत्काउन लागिपरेका छन् ।”

गठबन्धनको संयुक्त सरकारले आफ्नो साझा नीति तथा कार्यक्रमसमेत सार्वजनिक गरेको सन्दर्भ जोड्दै अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदनमा त्यसलाई सफल कार्यान्वयन गर्न जोड दिने उल्लेख गर्नुभएको छ ।

कोरोना नियन्त्रण, अर्थतन्त्रको पुनरुद्धार, जनताको जीवनस्तरमा सुधार गरी मुलुकमा सुशासन स्थापना गर्नु गठबन्धन र सरकारको प्राथमिकता रहेको रहेको प्रस्तावमा समावेश छ । सरकारलाई जनपक्षीय बनाउँदै सफल बनाउन पार्टीले आफ्नो ठाँउमा लागिपर्ने विषयलाई राजनीतिक प्रस्तावमा विशेष जोड दिइएको छ ।

अध्यक्ष दाहालले एमसिसी, लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रश्नलाई पार्टीको घोषित नीतिअनुसार कूटनीतिक संवादका माध्यमबाट हल गर्न प्रयत्न गरिने उल्लेख गर्नुभएको छ । आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी गराउने र सङ्घीय एवं प्रादेशिक निर्वाचनमार्फत देशको नेतृत्वदायी शक्तिका रुपमा स्थापित गर्ने गरी सङ्गठनात्मक कार्य अगाडि बढाउनुपर्नेमा जोड दिइएको छ ।

नयाँ सन्दर्भमा पार्टीको विचार, राजनीतिक कार्यदिशा, सङ्गठनात्मक संरचना र विभिन्न तहको नेतृत्व निर्माणका लागि राष्ट्रिय सम्मेलनको आयोजना गर्ने अध्यक्ष दाहालले प्रस्ताव गर्नुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विरासत दक्षिणपन्थीले बोक्न नसक्ने भन्दै अध्यक्ष दाहालले आफ्नै शक्तिमा भरपर्ने क्रान्तिकारी पार्टी निर्माण गर्ने र विचार मिल्ने वामपन्थी शक्तिसँग सहकार्य, मोर्चाबन्दी र ध्रुवीकरण गर्दै नेकपाको विरासत र स्वामित्वसमेत आफ्नो पार्टीले लिने उल्लेख गर्नुभएको छ ।

पार्टी निर्माणको मूल आधार लेनिनवादी सङ्गठनात्मक सिद्धान्त नै भएको ठहर गर्दै अध्यक्ष दाहालले युवा, प्रौढ र ज्येष्ठ उमेर समूहको समूचित सन्तुलन एवं सर्वहार श्रमजीवी वर्ग र उत्पीडित समुदायकाबीचबाट लाखौँ कार्यकर्ता भर्ती गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ ।

अध्यक्ष दाहालले तत्कालीन नेकपा(एमाले) र आफ्नो पार्टीबीचको पार्टी एकता वस्तुगतरूपमा सही भएको ठहर गर्दै राजनीतिक प्रस्तावमा भन्नुभएको छ, “पार्टी एकता वस्तुत सही हुँदाहुँदै पनि केपी ओलीमा देखा परेका अहङ्कार, दम्भ र पदलोलुपताजस्ता कारणले नेकपा विघटन हुन पुग्यो ।” विभाजित अवस्थामा रहेका सबै इमान्दार कम्युनिस्टलाई एकताबद्ध गर्दै फेरि पनि एउटै कम्युनिस्ट केन्द्र निर्माण गर्ने जिम्मेवारी आएको अध्यक्ष दाहालले स्पष्ट पार्नुभएको छ ।

यस्तो छ सम्मेलनको कार्यतालिका
अध्यक्ष दाहालले केन्द्रीय समितिमा प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्तावअनुसार आगामी पुसको दोस्रो साता राष्ट्रिय सम्मेलन आयोजना गरिनेछ । पार्टीलाई अवैध भन्दै नेकपा(एमाले) प्रवेश गरेका केही नेताले निर्वाचन आयोग र सर्वोच्च अदालतमासमेत निवेदन दिएको सन्दर्भमा माओवादीले राष्ट्रिय सम्मेलन आयोजना गर्ने प्रस्ताव गरेको हो ।

आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरिएको छ । त्यसका लागि आगामी भदौ मसान्तभित्र पार्टी सदस्यता नवीकरण तथा वितरण अभियान चलाइनेछ । आगामी असोज १० गते सेल र टोल भेला गर्ने, २० गते वडा सम्मेलन, ३० गते पालिका सम्मेलन गर्ने र कात्तिक ३० गते जिल्ला सम्मेलन गर्ने प्रस्ताव गरिएको छ ।

प्रस्तावअनुसार आगामी मङ्सिर १५ गते प्रदेश सम्मेलन आयोजना गरिनेछ । बैठकमा अध्यक्ष प्रचण्डले विधान संशोधनको प्रस्ताव पेश गर्नुभएको छ । बैठकमा अध्यक्ष दाहालले पेश गर्नुभएको राजनीतिक, विधान संशोधनलगायतका अन्य प्रस्तावमाथि छलफल गर्न विभिन्न आठ वटा समूहमा विभाजन गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

आइतबार बिहान ११ बजेसम्म दुवै प्रस्तावमाथि छलफल गरेर केन्द्रीय सदस्यले आवश्यक राय सुझाव दिनुपर्नेछ । छलफलबाट प्राप्त हुने निष्कर्ष बैठकमा पेश हुने र आवश्यक संशोधनसहित पारित गर्ने कार्यसूची तय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकका अध्यक्ष दाहालले वर्तमान राजनीतिक परिस्थितिको जानकारी गराउनुभएको थियो । उहाँले देशको परिस्थिति र पार्टीले खेलेको भूमिका र आगामी दिनमा निर्वाह गर्नुपर्ने कार्यभारका बारेमासमेत आफ्नो धारणा राख्नुभएको थियो । केन्द्रीय समितिको बैठक आइतबार पुनः ११ बजे बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्