Political Hightlights

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया शुरु, भोलि ३ बजेसम्म दाबी पेस गर्न आव्हान

हिमालय टिभी
२०७८ साउन २७ गते १७:०५
लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया शुरु, भोलि ३ बजेसम्म दाबी पेस गर्न आव्हान

२७ साउन २०७८ बुटवल । लामो रस्साकस्सीपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद छाड्नुभएको छ । पोखरेलको राजीनामासँगै नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको छ ।

प्रदेशसभाबाट अविश्वास प्रस्ताव पारित हुने निश्चित भएपछि मुख्यमन्त्री पोखरेलले आज दिउँसो राजीनामा दिनुभएको थियो । प्रदेश प्रमुखको कार्यालयले भोलि दिउँसो तीन बजेसम्म नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आव्हान गरेको छ ।

संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम दुई वा त्यसभन्दा धेरै दलको समर्थनमा मुख्यमन्त्री बन्ने प्रयोजनका लागि प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले निकालेको सूचनामा उल्लेख छ ।

आज प्रदेश सभा बैठकमा अविश्वास प्रस्ताव पेश हुनु अगाडी नै मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुभएको थियो । विपक्षी गठबन्धनले आजै नयाँ सरकारका लागि दाबी पेश गर्ने तयारी गरेको छ । ८० सदस्यीय रहेको प्रदेशसभामा विपक्षी गठबन्धनमा ४१ सांसद छन् ।

गठबन्धनबाट मुख्यमन्त्री पदका लागि माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।

पोखरेल २०७४ साल फागुन ३ गते पहिलोपटक र गत बैशाख १९ गते दोस्रोपटक मुख्यमन्त्री नियुक्त हुनु भएको हो । दोस्रो पटक सपथ लिँदा अल्पमतमा रहेको भन्दै विपक्षी दलले बहुमत सिद्ध गर्न वा राजीनामा दिन निरन्तर दबाब दिइरहेका थिए । गत असार ३१ गते प्रदेश सभामा बहुमत नपुगेपछि मुख्यमन्त्रीले संसद अधिवेशन अन्त्य गरी अध्यादेशबाट वजेट ल्याउनु भएको थियो ।

साउन १९ गते विपक्षी चार दलको गठवन्धनका ३४ जना सांसदले मुख्यमन्त्रीविरुद्ध तेस्रोपटक अविश्वास प्रस्ताव दर्ता गरेका थिए । विपक्षी गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् ।

सरकार बचाउने सबै प्रयास असफल भएपछि पोखरेल पद छाड्न बाध्य हुनुभएको हो । मुख्यमन्त्री पोखरेलले अर्को सरकार बन्न नदिन सांसद विमला खत्रीलाई बन्धक बनाएको आरोप पनि लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्