आर्थिक

सरकारी स्वेतपत्र : हरेक नागरिकको टाउकोमा ५७ हजार ऋण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन २६ गते २१:०३
सरकारी स्वेतपत्र : हरेक नागरिकको टाउकोमा ५७ हजार ऋण (भिडियो रिपोर्टसहित)

२६ साउन २०७८ काठमाडौं । सरकारले आज मुलुकको आर्थिक अवस्था समेटेर श्वेतपत्र सार्वजनिक गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाको बैठकमा पेश गरेको स्वेतपत्रका अनुसार मुलुकको आर्थिक अवस्था सन्तोषजनक छैन । विगत तीन वर्षमा सार्वजनिक ऋण २ सय ५० प्रतिशतले बढेको छ । सरकारी कोष घाटामा छ भने आर्थिक अनुशासन पनि खल्बलिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको स्वेतपत्रका अनुसार विगत तीन वर्षमा मुलुकको सार्वजनिक ऋण अचाक्लि नै बढेको छ । तीन वर्ष अघि करिब ७ खर्ब मात्रै रहेको ऋण अहिले बढेर १७ खर्ब २९ अर्ब पुगेको छ ।

यस आधारमा हरेक नेपालीको टाउकोमा ऋणको भार ५७ हजारभन्दा माथि पुगेको छ । यसरी ऋण लिइएको रकम गतिलोसँग सदुपयोग भने भएको छैन । जसको उदाहरण हो यति ठुलो रकम ऋण लिँदा पनि आर्थिक वृद्धिमा सफलता प्राप्त भएको छैन । बरु ऋणको साँवा र व्याजमा ठुलो रकम खर्च गर्नुपर्ने अवस्था छ ।

तीन वर्षमा सरकमारले स्वदेश विदेशबाट ठुलो रकम ऋण लिए पनि सरकारी कोष भने घाटामा छ । २०७४ मा तत्कालिन सरकारले जारी गरेको श्वेतपत्रमा सरकारी कोष ४८ अर्बले सञ्चित घाटामा रहेको उल्लेख थियो । तर त्यसमा सुधार आउनुको साटो घाटा बढ्ने क्रम रोकिएन । र कोष अहिले झण्डै डेढ खर्व घाटामा पुगेको छ ।

विकास खर्च गर्न नसक्ने अवस्थामा पनि सुधार आउन सकेको छैन । स्वेतपत्रका अनुसार एकातिर साधारण खर्च बढिरहेको छ भने अर्कातिर विकास खर्च हुन सकेको छैन । यसको प्रत्यक्ष असर आर्थिक वृद्धिमा परेको छ ।

विनियोजित बजेट खर्च हुन नसकिरहँदा वर्सेनी बजेट भन्दा बाहिर गएर स्रोत सुनिश्चितता सहमति पनि दिइएको छ। यसले बजेटप्रतिको विश्वंसनियतामै प्रश्न उठने गरेको अर्थमन्त्री शर्माले बताउनुभयो ।

अझै पनि मुलुकको १८ प्रतिशत भन्दा बढी जनसंख्या गरिबीको रेखामुनि छ । कोरोना महामारीले गरिब र सीमान्तकृत समूह सबैभन्दा बढी जोखिममा परेको छ। गरिबी र बेरोजगारी बढ्ने क्रम जारी छ ।

आर्थिक असमानता पनि उच्च हुँदै गएको छ । अर्थमन्त्री शर्माले मुलुकको अर्थतन्त्रको फेहरिस्त पेश गर्दै अघिल्लो सरकारको पनि आलोचना गर्नुभएको छ । उहाँले अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट परिमार्जन गर्ने जनाउनुभयो ।

अर्थमन्त्रीले सार्वजनिक गरेको स्वेतपत्रका अनुसार अहिले मुलुकको अर्थतन्त्र कमजोर अवस्थामा पुगेको छ । निर्यातको कमजोर आधार र उच्च आयातका कारण व्यापार घाटा फराकिलो हुँदै गएको छ ।

आर्थिक बेथिति बढेको छ । बर्षभरी उठेको राजश्वले साधारण खर्च समेत नधान्ने अवस्था आएको छ । अर्थमन्त्री शर्माले कमजोर आर्थिक अवस्थाको आंकलन त गर्नुभएको छ तर यसबाट पार लगाउन अब के गर्नुहुन्छ भन्ने मुख्य प्रश्न उहाँमाथि तेर्सिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *