कांग्रेस संस्थापन इतर जिल्ला सभापतिहरुको भेला काठमाडौंमा शुरु
२४ साउन २०७८ काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर जिल्ला सभापतिहरुको भेला आज काठमाडौंमा शुरु भएको छ ।
१४ औं महाधिवेशन पूर्वनिर्धारित मिति भदौ १६ मा नहुने भएपछि संस्थापन इतर जिल्ला सभापतिहरु काठमाडौंमा भेला भएर अनौपचारिक छलफल गर्न लागेका हुन् ।
क्रियाशील सदस्यता विवाद र पार्टीको १४ औं महाधिवेशनबारे छलफल गर्न आज र भोलि जिल्ला सभापतिहरुको भेला आयोजना गरिएको कार्यक्रमको संयोजना गरिरहेका नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले जानकारी दिनुभयो ।
भेलामा सरकारको कामकारबाही र आगामी चुनाव केन्द्रित रहेर छलफल हुने केसीले जानकारी दिनुभयो । भेला अनौपचारिक भएपनि पार्टीका शीर्ष नेताहरुलाई पनि निमन्त्रणा गरिएको नेता केसीको भनाइ छ ।
भेलामा ७७ मध्ये ४७ जिल्लाका सभापति सहभागी भएका छन् । काठमाडौंको ठमेलमा जारी जिल्ला सभापति भेलामा ३५ जना सभापति भौतिकरूपमा सहभागी छन् भने १२ जना भर्चुअलरूपमा सहभागी रहेको नेता केसीले जानकारी दिनुभयो ।
यसअघि काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुसँग पौडेल पक्षका नेताहरुले पटक–पटक छलफल गर्दै आएका थिए ।
ती छलफलहरुमा सहभागीहरुले अब सबैसँग छलफल गर्नुपर्ने राय दिएपछि संयुक्त रुपमा छलफल गर्न विभिन्न जिल्लाका कांग्रेस सभापतिहरु काठमाडौं आएका हुन् । छलफल भोलि घोषणापत्रसहित समापन हुनेछ ।
प्रतिक्रिया