Political Hightlights

एमाले नेपाल–खनाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दै

हिमालय टिभी
२०७८ साउन २१ गते ८:०७
एमाले नेपाल–खनाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दै

२१ साउन २०७८ काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।

वरिष्ठ नेता माधवकुमार नेपालको आह्वानमा आज नेपाल–खनाल समूहको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । आज बिहान ११ बजे बुद्धनगरस्थित एक ब्याङ्क्वेटमा बैठक बस्ने तय भएको एमाले केन्द्रीय सदस्य मेटमणि चौधरीले जानकारी दिनुभयो ।

यसअघि हिजोका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै आजसम्मका लागि स्थगित भएको थियो । आजको बैठकले केही महत्वपूर्ण निर्णय गर्ने नेपाल निकट केन्द्रीय सदस्य चौधरीले जानकारी दिनुभयो ।

पार्टीभित्रको विवाद समाधानका लागि निर्णायक मोडमा पुगेपछि नेता नेपालले आगामी रणनीति तय गर्नका लागि बैठक बोलाउनुभएको हो । बैठकले पार्टी एकता गर्ने कि विभाजनमा जाने भन्ने विषयमा निर्णय गर्नेछ।

एकताका लागि नेता नेपालले संसदको पूरा कार्यकाल सुनिश्चितता, जुनसुकै निर्णयमा अध्यक्ष केपी शर्मा ओलीसहित आफ्नो पनि हस्ताक्षर हुनुपर्ने लगायतका शर्त राख्नुभएको छ ।

एकता हुन नसके सरकारमा सहभागी हुने नेपाल पक्षको तयारी छ। नेता नेपालले निर्णय दिन नसकेकाले मन्त्रिपरिषद विस्तार हुन सकेको छैन।

एमाले केन्द्रीय सदस्य चौधरीले भने अब अध्यक्ष ओलीसँग सहकार्यको सम्भावना लगभग सकिएको बताउँदै आजको बैठकले सरकारमा सहभागी हुने र नयाँ पार्टी गठनबारे निर्णय लिइने दाबी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्