आर्थिक

कोरोनाका कारण पर्यटन बस व्यवसाय धरासायी, सवारी साधन कवाडी बन्दा लगानी जोखिममा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन २० गते १५:१८
कोरोनाका कारण पर्यटन बस व्यवसाय धरासायी, सवारी साधन कवाडी बन्दा लगानी जोखिममा (भिडियो रिपोर्टसहित)

२० साउन २०७८ काठमाडौं । नेपालको पर्यटकीय गन्तव्यलाई आधार बनाएर काठमाडौंबाट विभिन्न ठाउँका लागि व्यवसायीले पर्यटक बस सञ्चालन गर्दै आएका थिए ।

नेपालले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने भएपछि उत्साही हुँदै उनीहरुले नयाँ बस समेत किने । तर कोराना कहरका कारण भ्रमण वर्ष बिचमै स्थगित भयो । झण्डै डेढ वर्षदेखि पर्यटक बस ग्यारेजमा थन्किएका छन् । व्यवसायीको करोडौको लगानी कवाडीमा परिणत हुँदै गएको छ ।

यी हुन् पर्यटक बोक्ने सुविधा सम्पन्न बस । झण्डै डेढ वर्षदेखि यी बस सडकमा गुड्न पाएका छैनन् । त्यसैले ग्यारेजमा थन्किएका बसमा यसरी घाँस उम्रिएको छ । बसका पार्टपुर्जामा खिया लागिरहेको छ ।

सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने तयारी गरेसँगै पर्यटक बस व्यवसायीले उत्साही भएर यस्ता सुविधा सम्पन्न बस थपेका थिए । तर भ्रमण वर्ष बिचमै रोकियो र ७६ सालको चैतदेखि देशमा लकडाउन भयो । त्यो लकडाउनसँगै यी बस थन्किए । कोरोना सकिएला । पर्यटक आउलान् र बस चलाउँला भनेर कुर्दा कुर्दै व्यवसायी हैरान छन् ।

पछिल्लो समय पार्किङमा राखिएका आफ्ना बस हेर्न समेत व्यवसायी आउन छाडेका छन् । त्यसैले कतिपय बस त वेवारिसे छन् । पर्यटन प्रर्वद्धनको लागि उत्साही भएर लगानी गरेका व्यवसायी निराश छन् ।

कतिपय बस राखेकै ठाउँमा बिग्रिएका छन् । यी बस फेरि चलाउनका लागि पनि मर्मत सम्हार आवश्यक छ । तर डेढ वर्षदेखि सुको आम्दानी गर्न नसकेका व्यवसायीसँग यी बस मर्मत गर्ने पैसा समेत छैन । व्यवसायीहरु पलायन हुने अवस्थमा पुगेका छन् ।

व्यवसायी मात्र हैन । पर्यटक बस व्यवसायसँग जोडिएका मजदुरको पनि बिचल्ली भएको छ ।

आफूहरु पलायनको अवस्थामा पुग्दा पनि सरकारबाट केही सहयोग नपाएको गुनासो व्यवसायीको छ ।

उनीहरु सरकारसँग सहयोगको अपेक्षामा छन् । तर सरकारले सहुलियत दिनुको सट्टा उल्टै सवारी धनीसँग करदेखि नविकरण दस्तुरसमेत उठाउने गरेको छ । त्यसैले व्यवसायीले कर र नविकरण दस्तुर छुट दिन सरकारलाई आग्रह गरेका छन् ।

समग्र पर्यटन क्षेत्र नै प्रभावित हुँदा पर्यटक बस व्यवसायी मारमा नपर्ने कुरै भएन । त्यसैले सरकारले समग्र पर्यटन क्षेत्रलाई हुने गरी राहतको कार्यक्रम ल्याउन आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *