एमालेको नेपाल समूहले बोलाएको केन्द्रीय सदस्यहरुको बैठक स्थगित

२० साउन २०७८ काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आजका लागि आह्वान गरेको आफूनिकट केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ।
आज बिहान ११ बजे बुद्धनगरस्थित एक ब्याङ्क्वेटमा बस्ने तय भएको बैठक भोलासम्मका लागि स्थगित भएको नेपाल निकट केन्द्रीय सदस्य मेटमणि चौधरीले जानकारी दिनुभयो । तयारी नपुगेकाले भोलिसम्मका लागि बैठक सारिएको चौधरीले जानकारी दिनुभयो ।
केही नेताहरु काठमाडौं उपत्यका बाहिर रहेकाले बैठक भोलिका लागि सारिएको हो । पार्टीभित्रको विवाद समाधानका लागि निर्णायक मोडमा पुगेपछि नेता नेपालले आगामी रणनीति तय गर्नका लागि बैठक बोलाउनुभएको हो ।
बैठकले पार्टी एकता गर्ने कि विभाजनमा जाने भन्ने विषयमा निर्णय गर्नेछ। एकताका लागि नेता नेपालले संसदको पूरा कार्यकाल सुनिश्चितता, जुनसुकै निर्णयमा अध्यक्ष केपी शर्मा ओलीसहित आफ्नो पनि हस्ताक्षर हुनुपर्ने लगायतका शर्त राख्नुभएको छ ।
एकता हुन नसके सरकारमा सहभागी हुने नेपाल पक्षको तयारी छ। नेता नेपालले निर्णय दिन नसकेकाले मन्त्रिपरिषद विस्तार हुन सकेको छैन।
एमाले केन्द्रीय सदस्य चौधरीले भने अब अध्यक्ष ओलीसँग सहकार्यको सम्भावना लगभग सकिएको बताउँदै भोलिको बैठकले सरकारमा सहभागि हुने र नयाँ पार्टी गठनबारे निर्णय लिइने दाबी गर्नुभयो ।
प्रतिक्रिया