लुम्बिनीमा बहुमतीय सरकार गठन गर्न ४१ सांसदले बुझाए प्रदेश प्रमुखलाई हस्ताक्षर (भिडियो रिपोर्टसहित)
१८ साउन २०७८ बुटवल । लुम्बिनी प्रदेशका विपक्षी ४ दलले संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम सरकार गठन गर्न माग गर्दै आज प्रदेश प्रमुख समक्ष निवेदन दिएका छन् ।
चार दलले ४१ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनलाई निवेदन बुझाएका हुन् । बहुमत सांसदले वर्तमान सरकार अवैधानिक र अल्पमतमा परेकाले नयाँ सरकार गठन गर्न माग गरिएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चाका सांसदले संविधान, मूल्यमान्यता, विधिअनुसार नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।
कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले सरकार अल्पमतमा हुँदा पनि नैतिकता देखाउन नसकेकाले प्रदेश प्रमुखबाट संवैधानिक प्रक्रिया आरम्भ गर्नुपर्ने बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले संविधानले दिएको अधिकारलाई प्रदेश प्रमुखले कार्यान्वयन गर्नु पर्ने बताउनुभयो ।
विपक्षी गठबन्धनको निवेदन बुझेपछि प्रदेश प्रमुख शेरचनले संविधान, विधि र संवैधानिक परम्परा अनुसार निष्कर्ष निकाल्ने बताउनुभयो ।
विपक्षी गठबन्धनले लामो समयदेखि मुख्यमन्त्री शंकर पोखरेललाई विश्वासको मत लिन दबाब दिँदै आएको छ । अल्पमतमा रहेका मुख्यमन्त्री पोखरेलले विभिन्न बहाना देखाएर विश्वासको मत लिन आनाकानी गर्दै आउनु भएको छ ।
प्रदेशमा अहिले ८० सांसद छन । त्यसमध्ये मुख्यमन्त्री पोखरेलको समर्थनमा नेकपा एमालेका ३८ सांसद मात्र छन् । मन्त्री रहेका तीनजना सांसदलाई जसपाले कारवाही गरेपछि पदमुक्त भइसकेका छन् । विपक्षी दलमा अहिले बहुमत सांसद छन् ।
प्रतिक्रिया