जसपा नेता यादव कित्ता परिवर्तन गर्दै यादव–भट्टराई समूहमा
१० साउन २०७८ काठमाडौं । जनता समाजवादी पार्टी जसपाका नेता राजकिशोर यादव महन्थ ठाकुर–राजेन्द्र महतो पक्षलाई छोडेर उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षतिर लाग्नु भएको छ ।
यादवले उपेन्द्र–बाबुराम पक्षको बालकुमारीमा बसेको कार्यकारिणी समिति बैठकमा सहभागी भएर समर्थनसमेत जनाउनु भएको छ । यसअघि राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्ष मण्डलका सदस्य रहेका यादव लामो समय महन्थ पक्षमै रहनु भएको थियो ।
जसपामा विवाद हुन थालेपछि एक बनाउन क्रियाशील रहेका यादव अन्ततः उपेन्द्र–बाबुराम पक्षमा खुल्नु भएको हो । जसपालाई मिलाउने प्रयासमा लागिरहेका यादवले अहिले उपेन्द्र यादवहरुले लिएको लाइन ठिक भएको प्रतिकृया दिनुभयो ।
हिमालय टेलिभिजनसँग कुरा गर्दै उहाँले भोलि निर्वाचन आयोगले सनाखतका लागि बोलाएको छलफलमा उपेन्द्र पक्षमै उभिने स्पष्ट पार्नु भएको छ ।
यसअघि उहाँ केपी शर्मा ओली नेतृत्वको सरकारमा उद्योग मन्त्रीको रुपमा १३ दिन मन्त्री हुनुभएको थियो ।
तत्कालीन मधेशी जनअधिकार फोरमबाट उपेन्द्र यादवसँग सम्बन्ध विच्छेद गरेका राजकिशोर फेरि उपेन्द्रलाई नै साथ दिन उभिनु भएको छ ।
प्रतिक्रिया