Political Hightlights

ओलीको अपमान सहेर पार्टीमा बस्न सकिन्नँः वरिष्ठ नेता नेपाल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ७ गते २०:१०
ओलीको अपमान सहेर पार्टीमा बस्न सकिन्नँः वरिष्ठ नेता नेपाल (भिडियो रिपोर्टसहित)

७ साउन २०७८ काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीको अपमान सहेर पार्टीमा नबस्ने बताउनुभएको छ ।

पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा वरिष्ठ नेता नेपालले अहिले आफू ‘पर्ख र हेर!को अवस्थामा रहेको बताउनुभयो । आफ्नै खेमाभित्रबाटै एकताका लागि दबाब बढिरहेका बेला वरिष्ठ नेता नेपाल मानसिक रुपले अलग हुन तयार भैसक्नुभएको जस्तो देखिन्छ । नेपालका पछिल्ला अभिव्यक्तिले त्यही संकेत गर्छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसित वरिष्ठ नेता नेपालको संघर्ष तीब्र छ । बोलचाल र भेटघाटकै लागि अरु नेताले प्रयास गर्नुपरेको जगजाहेरै छ । अहिले पनि एकताका लागि वरिष्ठ नेता नेपालमाथि आफ्नै खेमाका नेताले चर्को दबाब दिइरहेका छ ।

अवस्था यस्तो छ कि यो समूहमै अन्तर्विरोध सिर्जना भएको छ । तर वरिष्ठ नेता नेपाल मानसिक रुपले अलग हुन तयार भैसक्नुभएको छ । किनकी उहाँकै शब्दमा ओलीको अपमान र कुकर्म सहेर बस्ने अवस्था छैन । अहिलेको अवस्था पर्ख र हेर मात्रै हो ।

नेपाल–खनाल समूहका दोस्रो पुस्ताका धेरै नेतालाई नेकपा एमाले नाम र चुनाव चिन्हप्रति निकै मोह छ । सूर्य चिन्ह जनतामा स्थापित पनि छ, त्यसैले उनीहरु यो छोड्न चाहन्नन, तर वरिष्ठ नेता नेपाल अब पार्टी नाम र चुनाव चिन्हमा अल्झिने पक्षमा पनि देखिनुहुन्न । उहाँका अनुसार जे हुन्छ कामले हुन्छ । अर्थात एमाले नाम र सूर्य चुनाव चिन्हका लागि मात्रै मरिहत्ते गर्ने मानसिकता अब नेपाल हुनुहुन्न ।

वरिष्ठ नेता नेपालका अनुसार सही विचार र दृष्टिकोण नभए पार्टी एक हुनु र नहुनुले केही अर्थ राख्दैन । त्यसैले आफूलाई कम्युनिष्ट भन्नेले गलत हुँदा विद्रोह गर्न सक्नु पर्नेमा नेपालको जोड छ ।

नेपालले आफू मानसिक रुपले अलग पार्टी बनाउन तयार रहेको सन्देश मात्रै दिनुभएको छैन, आफूलाई साथ दिनेलाई पनि त्यसका लागि तयार पार्दै हुनुहुन्छ । त्यसैले उहाँले सके औषधि गर्ने नभए अपरेशनका लागि तयार हौं भनेर नेता कार्यकर्तालाई अपिल गर्नुभएको छ ।

पुष्पलाल स्मृति दिवसमा वरिष्ठ नेता नेपालले गरेको यो संकेत अर्थपूर्ण छ । किनकी एमालेमा बाहिर एकताको चर्को चर्चा भैरहेपनि अवस्था त्यस्तो नभएको देखिन्छ । र नेपालका अभिव्यक्तिले पनि त्यही कुरा प्रष्ट पार्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्