Political Hightlights

ओलीबिनाको एमाले बनाउने तयारीमा नेपाल–खनाल समूहमा

हिमालय टिभी
२०७८ साउन ६ गते ७:४६
ओलीबिनाको एमाले बनाउने तयारीमा नेपाल–खनाल समूहमा

६ साउन २०७८ काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहमा साविकको पार्टीभित्रै आफूहरुको बहुमत पुग्ने भन्दै अध्यक्ष केपी शर्मा ओलीबिनाको पार्टी बनाउन सकिने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदसँग वरिष्ठ नेता नेपालले गरेको छलफलमा सांसदहरुले यस्तो सुझाव दिएका हुन् ।

केही दिन पर्खिए केन्द्रीय कमिटी र संसदीय दलमा समेत आफूहरुको बहुमत पुग्ने र साविकको एमालेमै अध्यक्ष ओलीलाई हटाउन सकिने विषयमा छलफल भएको हो ।

१५ दिनभित्र एमालेको केन्द्रीय कमिटीमा बहुमत पुग्ने, संसदीय दलमा पनि बहुमत पुग्ने भएकाले त्यसबाट ओलीलाई हटाएर ओलीबाहेकको पार्टी गठन गर्ने भन्ने सुझाव आएको केन्द्रीय सदस्य एवम् सांसद मेटमणि चौधरीले बताउनुभयो ।

सांसद विरोध खतिवडाले आफूहरुसँग ओलीपक्षबाट ८ जना सांसद थपिएको र अरु पनि सम्पर्कमा रहेको बताउनुभयो । चौधरीले नयाँ पार्टी गठन गर्नेबारे पनि कानून व्यवसायीसँग छलफल गरेर निर्णय लिने बताउनुभयो ।

सकभर एमाले एकता कायम राख्न अन्तिमसम्म प्रयास गर्ने र नभए कानूनले दिन्छ भने नयाँ पार्टी बनाएर जानुपर्छ भन्ने सुझाव पनि आएको उहाँको भनाइ छ ।

सरकारमा सहभागिताबारे भने कानूनी परामर्श भइरहेको र सरकारमा गए वापत सांसद पद नजाने कुराको ग्यारेन्टी भएमा त्यो निर्णय गर्ने नेपाल पक्षको तयारी छ ।

नेपाल पक्षले आज आफूपक्षीय सबै केन्द्रीय सदस्य र सांसदहरुसहितको बैठक बोलाएको छ। ११ बजे बोलाइएको केन्द्रीय कमिटी बैठकपछि स्थायी कमिटीको बैठक बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *