Political Hightlights

जसपाका सांसदहरु धमाधम कित्ता परिवर्तन गर्दै, को कुन समूहमा ?

हिमालय टिभी
२०७८ साउन २ गते १४:४९
जसपाका सांसदहरु धमाधम कित्ता परिवर्तन गर्दै, को कुन समूहमा ?

२ साउन २०७८ काठमाडौं । सत्ता परिवर्तन र प्रतिनिधिसभा पुनःस्थापनासँगै संसदको चौथो ठूलो दल जनता समाजवादी पार्टीका सांसदहरुले कित्ता परिवर्तन गर्न थालेका छन् ।

पाँच दलीय गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेसँगै जसपाको उपेन्द्र यादव समूहले महन्थ ठाकुर समूहमा रहेका सांसदहरुलाई आफ्नो पक्षमा तान्न थालेको हो।

निर्वाचन आयोगमा आधिकारिकता विवाद चलिरहेका बेला जसपाको महन्थ ठाकुर पक्षका चार जना सांसद उपेन्द्र यादवतिर लागेका छन् । पार्टी कार्यालय बालकुमारीमा बसेको जसपा उपेन्द्र पक्षको संसदीय दलको बैठकमा महन्थ समूहमा रहेका चारजना सांसद सहभागी भएका छन्।

यसअघि ठाकुर समूहतर्फ लागेका सांसदहरु प्रमोद साह, रुही नाज, अमृता अग्रहरि र रानी मण्डल सहभागी भएका हुन्। अझै केही सांसदहरुले ठाकुर समूहलाई छाड्ने तयारीमा रहेको बुझिएको छ ।

राजकिशोर यादव, नरमाया ढकालले पनि उपेन्द्र यादवसँग वार्ता गरेर ठाकुर पक्षलाई छोड्ने तयारीमा छन् । तर अध्यक्ष यादवसँग आज वार्ता हुन नसकेपछि उनीहरु आजको बैठकमा सहभागी भएनन्।

यादव पक्ष सत्तामा जाने तयारी गरेसँगै ठाकुर समूहका सांसद तानेर दल विभाजनका क्रममा पनि आफूलाई बलियो बनाउने रणनीतिमा छ ।

यसअघि केपी ओली नेतृत्वको सरकारमा जाने क्रममा ठाकुर समूहले करिब २० जना सांसदहरु आफ्नो पक्षमा तानेको थियो। तर सर्वोच्चको आदेशबाट ठाकुर समूह ओली सरकारबाट बाहिरिएसँगै यादव पक्षले सांसदहरुलाई तान्न थालेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्