एमाले स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै
१ साउन २०७८ काठमाडौं । नेकपा एमाले स्थायी कमिटी र संसदीय दलको बैठक आज बस्दैछ ।
अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा महासचिव ईश्वार पोख्ररेलले बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा स्थायी समिति बैठक बोलाउनु भएको हो ।
सरकारबाट बाहिरिएपछि पहिलो पटक एमालेको स्थायी कमिटि बैठक बस्न लागेको हो। बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पनि बोलाइएको छ। तर नेपाल पक्ष सहभागी हुने नहुने अझै टुंगो लागिसकेको छैन ।
१० बुँद्धे सहमति अनुमोदन गर्न असार २८ गते बोलाइएको बैठक नेपाल पक्षको आग्रहमा स्थगित भएको थियो। स्थायी कमिटी बैठकपछि दिउँसो तीन बजे नयाँ बानेश्वरस्थित लोत्से हलमा संसदीय दलको बैठक बोलाइएको छ।
प्रतिनिधिसभा पुनःस्थापना भएर शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच अझ कटुता बढेको छ।
अध्यक्ष ओलीले आफू हटाएर नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउने वरिष्ठ नेता नेपालले खेलेको भूमिकाप्रति क्रुद्ध देखिनु भएको छ ।
उहाँले बालुवाटार छोडेर बालकोटस्थित आफ्नो निवास पुगेर नेपाललाई गद्धार घोषणा गर्दै माफी मागेर आत्मालोचना गरेपनि पार्टीमा कुनै ठाउँ नरहेको अभिव्यक्ति दिनु भएको थियो ।
नेपाल पक्षका स्थायी कमिटी सदस्य घनश्याम भुसालले आजका दुबै बैठकमा जाने नजाने विषयमा आफूहरु छलफल मै रहेको बताउनु भएको छ ।
प्रतिक्रिया