एमालेमा एकताको नयाँ पहल, होला ओली–नेपालबीच वार्ता र सहमति ?
२२ असार २०७८ काठमाडौं । एमालेको कार्यदलले सहमतिको मस्यौदा बनाउने र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता गराएर पार्टी विवाद समाधानको प्रयास शुरु गरेको छ ।
कार्यदल ब्युँताउने र त्यहाँ बन्ने सहमतिको मस्यौदामा मात्रै वार्ता गर्ने नेपालको सर्त ओलीले स्वीकार गरेपछि कार्यदलले औपचारिक गृहकार्य थालेको हो ।
संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाइ सकिएर फैसलाको पर्खाइ भएकै बेला एमालेमा सहमतिको नयाँ अध्याय शुरु भएको हो । आइतबार दोस्रो तहका नेताहरूले ओली र नेपाललाई भेट गराएर सहमति जुटेका विषयमा संयुक्त विज्ञप्ति निकाल्ने कोसिस गरेका थिए ।
तर, नेपालले कार्यदल ब्युँताउने र त्यहाँ बन्ने सहमतिको मस्यौदामा मात्रै वार्ता गर्ने अडान राखेपछि ओली–नेपाल भेट र संयुक्त विज्ञप्तिको प्रयास असफल भएको थियो । तर त्यसपछि पनि कार्यदल सदस्यहरू भने अनौपचारिक संवादमा थिए ।
त्यसैअनुसार ओली र नेपालपक्षीय नेता भीम रावलबीच बालुवाटारमा वार्ता भएको थियो । सोही वार्तामा ओली कार्यदल ब्युँताउन तयार हुनु भएको थियो । कार्यदल ब्युँताएर सहमतिको मस्यौदा बनाउने जिम्मा दिन ओली तयार भएलगत्तै हिजो कार्यदलको बैठक बसेको थियो ।
बैठकमा सहमतिको मस्यौदा कोर्ने र तुरुन्तै ओली–नेपाल भेटवार्ता गराउने गृहकार्य शुरु भएको नेताहरुले बताएका छन् । अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपालको निर्देशनअनुसार सहमतिको मस्यौदालाई अन्तिम रूप दिने उद्देश्यले डेढ महिनादेखि निष्क्रिय दश सदस्यीय कार्यदल ब्युँताएर हिजोदेखि सक्रिय बनाइएको छ ।
योसँगै पार्टी संस्थापनबाट कारबाहीमा परेका उपाध्यक्ष भीम रावलले वरिष्ठ नेता नेपाल पक्षबाट सहमतिको मस्यौदालाई अन्तिम रूप दिने कामको नेतृत्व सम्हाल्नु भएको छ ।
रावलको प्रवेशसँगै दुवैतर्फका दोस्रो तहका नेताहरूले अनौपचारिक छलफलबाट तयार पारेको तीनबुँदे सहमतिको मस्यौदालाई अन्तिम रूप दिने गरी छलफल अगाडि बढेको कार्यदलको बैठकमा सहभागी नेताहरूले बताएका छन् ।
हिजोको बैठकमा अनौपचारिक तहमा भएका समझदारीबारे रिपोर्टिङ भएको र आज टुंग्याउन बाँकी विषयमा समझदारी जुटाउन छलफल केन्द्रित हुने उनीहरूको भनाइ छ ।
अहिलेसम्म पार्टीलाई०७५ जेठ २ सम्मको सांगठनिक संरचनाबाट अगाडि बढाउने, सर्वोच्च अदालतमा दायर रिटका फैसलालाई मानेर जाने विषयमा समझदारी जुटेको बताइएको छ।
तर पूर्वमाओवादीबाट आएका नेताहरुको व्यवस्थापन, एमालेको केन्द्रीय कमिटी २०३ वा २४१ सदस्यीय भन्नेमा अझै सहमति हुन बाँकी छ ।
२४१ हुँदा माधव पक्षबाट छुटेका वरिष्ठ नेताहरुलाई थप्ने प्रस्तावमा पनि सहमति हुन बाँकी रहेको कार्यदलका ती सदस्यले बताए ।
प्रतिक्रिया