Political Hightlights

मुख्यमन्त्री पोखरेलमाथि राजीनामाको दबाब (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २० गते २०:३८
मुख्यमन्त्री पोखरेलमाथि राजीनामाको दबाब (भिडियो रिपोर्टसहित)

२० असार २०७८ बुटवल । लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले पदबाट राजीनामा दिएसँगै लुम्बिनी प्रदेशको राजनीतिले नयाँ मोड लिएको छ । आफूसँग बहुमत रहेको मुख्यमन्त्री पोखरेलको दावीलाई रायमाझीको राजीनामाले झन् फितलो बनाइदिएको छ ।

प्रदेश सरकार अल्पमतमा रहेको भन्दै पदबाट राजीनामा दिन विपक्षीले माग गरेका छन् । तर पोखरेल नेतृत्वको सरकारले भने अझै बहुमतमा रहेको भन्दै राजीनामा नदिने स्पष्ट संकेत देखाएको छ ।

गत जेठ २८ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभामा आफूसंग ४५ सांसद रहेको दाबी गर्नुभयो । अनि भन्नुभयो बहुमत गुमे एक मिनेट पनि सरकारमा नबस्ने उद्घोष गर्नुभयो ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जनता समाजवादी पार्टी ६ मध्ये ४ सांसदलाई मन्त्री बनाएर मुख्यमन्त्री पोखरेलले बहुमत दाबी गर्नुभएको थियो । त्यतिबेला पनि मुख्यमन्त्री पोखरेलले दावी गरेजस्तो थिएन ।

पछिल्लो पटक त जनता समाजवादी पार्टीकी सुमन शर्मा रायमाझीले राज्यमन्त्रीबाट राजीनामा दिँदै पोखरेललाई समर्थन नगरेको जानकारी संसदमा गराइसक्नु भएको छ । अर्थात मुख्यमन्त्री पोखरेल अल्पमतमा परेको प्रष्टै छ । तर सरकार भने बहुमत नै रहेको दाबी गर्छ । अनि भन्छ चुनाब अघि आफूलाई कसैले पनि हटाउन सक्दैन ।

अहिले ८३ सदस्य रहेको प्रदेशसभामा एमालेका ३८ जना सांसद छन् । जसपाका ३ गरी मुख्यमन्त्री पोखरेललाई ४१ जनाको मात्रै समर्थन छ । प्रदेशसभामा माओवादी र कांग्रेसका १९(१९, र राष्ट्रिय जनमोर्चाका एक जना छन् । ३ सांसदको पद खारेज भइसकेको छ ।

जसपाका ४ जना सांसदको मुद्धा पनि सर्वोच्च अदालतमा विचाराधिन छ । र पनि सरकारले बहुमत रहेको दावी गरिरहेको छ । तर बहुमत गुमाएको भन्दै विपक्षी गठबन्धनले मुख्यमन्त्रीको राजीनामा मागिरहेको छ ।

बजेट छलफल अघि नै विपक्षी गठबन्धन मुख्यमन्त्रीलाई सत्ताबाट हटाउन लागिरहेको छ । २७ गते अगाबै मुख्यमन्त्रीले राजीनामा नगरे बजेट फेल गराउने र राजनीतिक प्रतिवाद गर्ने गठबन्धनको रणनीति छ ।

असार १ गते प्रस्तुत भएको बजेटमा विपक्षीको विरोध र अवरोधले छलफल शुरु हुन सकेको छैन । मुख्यमन्त्री अल्पमतमा पर्दा बजेट पारित हुने सम्भावना पनि कम छ । विपक्षीको दबावमा नहटेपनि बजेट फेल भएमा मुख्यमन्त्रीमाथि सत्ता छोड्न अर्को दबाब पर्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्