एमाले संस्थापन पक्षले बोलाएको बैठक स्थगित गर्न नेपाल–खनाल समूहको आग्रह
१८ असार २०७८ काठमाडौं । माधवकुमार नेपाल पक्षले आज बोलाएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित गर्न आग्रह गरेको छ।
केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा बसेको कार्यदल बैठकमा नेपाल पक्षका नेताहरुले यस्तो आग्रह गरेका हुन्। नेपाल पक्षले आज अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटीको बैठकमा सहभागी नहुने बताएपछि सहमति जुटाउन हिजो साँझ कार्यदल बसेको थियो।
बैठकमा नेपाल पक्षले आजको बैठक स्थगित गर्न भनेको हो । त्यसको जवाफमा ओली पक्षका नेताहरुले अध्यक्ष ओलीसँग छलफल गर्ने बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
कार्यदलको बैठकमा शंकर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, घनश्याम भूसाल र गोकर्ण विष्टको सहभागिता थियो ।
दशौ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको बुधबार बसेको बैठकले आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको प्रति नेपाल खनाल पक्षले असन्तुष्टि जनाएको छ । उनीहरुले २०७५ जेठ २ गते अघिको कमिटीलाई ब्यूँताउनु पर्ने माग गर्दै आएका छन्।
तर बुधबारको बैठकले माओवादी केन्द्र छाडेर एमालेमै बसेका चार जनालाई स्थायी कमिटीसहित २३ जना पूर्वमाओवादीलाई केन्द्रीय कमिटीमा थपेपछि नेपाल पक्ष थप असन्तुष्ट बनेको छ ।
प्रतिक्रिया