अब एमाले एकता हुने सम्भावना छैन : नेता डा बेदुराम भुसाल (भिडियो रिपोर्टसहित)
१६ असार २०७८ काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल समूहले स्थायी कमिटीको हिजोको निर्णयबाट अध्यक्ष केपी शर्मा ओली २०७५ जेठ २ अघिको संरचनामा जान तयार नभएको भन्दै त्यसले पार्टी एक बनाउन नसक्ने प्रतिक्रिया दिएको छ ।
हिमालय टेलिभिजनसँग आज कुरा गर्दै नेपाल–खनाल पक्षका नेता डा बेदुराम भुसालले जेठ २ गते अघिको संरचनामा जाँदा २ सय ३ सदस्यीय केन्द्रीय कमिटी हुनुपर्ने बताउनुभयो ।
हिजोको निर्णयले जेठ ३ गते थपिएका सदस्यसहित २ सय ४१ सदस्यीय केन्द्रीय कमिटीको बैठक बोलाएको र त्यो एमालेको विधानविपरीत हुने बताउनुभयो ।
त्यही अनुसार प्रदेश र स्थानीय तहको संरचना ब्यूँताउन पनि ओली तयार नभएको उहाँको भनाइ छ । यसरी बोलाउने बैठकले आफूहरुका माग सम्बोधन नगर्ने र आफुहरु बैठकमा उपस्थित नहुने नेता भुसालले बताउनुभयो ।
उहाँले पार्टी अध्यक्ष ओलीले एकता नगर्ने मनशायले हिजोको निर्णय गरेको भन्दै नयाँ पार्टी खोल्न आफूहरु बाध्य हुने बताउनुभयो ।
तर अझै पनि एकताका लागि प्रयास जारी रहेको उहाँको भनाइ छ ।
प्रतिक्रिया