Political Hightlights

एमाले संस्थापन पक्ष महाधिवेशन आयोजक कमिटीको बैठक जारी

हिमालय टिभी
२०७८ असार १६ गते १३:०४
एमाले संस्थापन पक्ष महाधिवेशन आयोजक कमिटीको बैठक जारी

१६ असार २०७८ काठमाडौं । एमाले संस्थापन पक्षको महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा बसिरहेको छ ।

सर्वोच्च अदालतले महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएकाले यो बैठकलाई नै अन्तिम बनाउने एमाले संस्थापनको तयारी छ । आजको बैठकबाट महाधिवेशन आयोजक कमिटी खारेज भएको घोषणा गर्न लागिएको नेताहरुले बताएका छन् ।

बैठकमा नेपालखनाल समूहका केही नेतालाई पनि बोलाइएको थियो । तर विधानले नचिन्ने बैठक गुटको भएको भन्दै नेपाल खनाल समूहका नेता सहभागी भएका छैनन् ।

बैठकमा माओवादी केन्द्र छाडेका रामबहादुर थापा लगायतका नेता भने सहभागी भएका छन् । अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसँग एकता हुनुअघिको केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गर्नुभएको छ ।

हिजो बसेको स्थायी कमिटी बैठकले पर्सी १८ गते केन्द्रीय कमिटी बोलाउने निर्णय गरेको थियो । गत फागुन २८ गते अध्यक्ष केपी शर्मा ओलीले नवौं महाधिवेशनबाट निर्वाचित कमिटी खारेज गरेर दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गर्नुभएको थियो । यसप्रति नेपाल–खनाल समूहले चर्को आपत्ति जनाउँदै आएको छ ।

हिजो साँझ बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेकपा एमालेलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउने निर्णय गरेको थियो ।

दोस्रो तहका नेताहरूको छलफल र सर्वोच्च अदालतले महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि जेठ २ कै अवस्थामा फर्कन अध्यक्ष ओली बाध्य हुनुभएको हो ।

माओवादीसँग पार्टी एकता हुनुअघि २०७५ जेठ ३ अघि नेकपा एमालेको केन्द्रीय कमिटी २ सय ४१ सदस्यीय थियो ।

अध्यक्ष ओलीले यसमा पूर्व माओवादीका २३ जनालाई थपेर २६४ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाउनु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्