Political Hightlights

२०७५ जेठ २ कै अवस्थामा फर्किने एमाले स्थायी कमिटी बैठकको निर्णय

हिमालय टिभी
२०७८ असार १६ गते ७:२५
२०७५ जेठ २ कै अवस्थामा फर्किने एमाले स्थायी कमिटी बैठकको निर्णय

१६ असार २०७८ काठमाडौं । नेकपा एमाले २०७५ जेठ २ कै अवस्थामा फर्किने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ बसेको एमाले स्थायी कमिटी बैठकले जेठ २ मा फर्किने निर्णय औपचारिक रूपमा गरेको हो ।

एमाले सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले बैठकले असार १८ गते बस्ने गरी एकतापूर्वको केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको जानकारी दिनुभयो ।

दोस्रो तहका नेताहरूको छलफल र सर्वोच्च अदालतले महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि जेठ २ कै अवस्थामा एमालेलाई फर्काउन अध्यक्ष ओली सहमत हुनुभएको हो ।

गत फागुन २३ मा सर्वोच्च अदालतले एमाले ब्युँताएपछि २०७५ जेठ २ कै पार्टी कमिटी, विधान र नेतृत्व कायम हुनुपर्ने पार्टीभित्र माग भइरहेको थियो ।

वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमसहितको समूहले जेठ २ को पार्टी कमिटी अनुसार अघि बढ्नुपर्ने अडान राख्दै आएका थिए ।

आज बस्ने आयोजक कमिटी बैठकले महाधिवेशन आयोजक कमिटीलाई विघटन गरेर केन्द्रीय कमिटी बैठकको आह्वान हुनेछ । माओवादीसँग पार्टी एकता हुनुअघि २०७५ जेठ २ अघि नेकपा एमालेको केन्द्रीय कमिटी २४१ सदस्यीय थियो ।

ओलीले यसमा पूर्व माओवादीका २३ जनालाई थपेर २६४ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाउनु भएको थियो । अब यो आयोजक कमिटी विघटन गरी बादलहरू बाहेकको पुरानै २ सय ४१ सदस्यीय एमालेको केन्द्रीय कमिटी बोलाउन ओली तयार हुनुभएको हो ।

केन्द्रीय कमिटी बैठक बोलाइएसँगै नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी स्वतः पुनर्वहाली हुने र ११ जना नेतालाई गरिएको कारबाहीसमेत स्वतः निष्क्रिय हुने भएको छ ।

आज बस्ने महाधिवेशन आयोजक कमिटीको बैठकमा नेपाल–खनाल समूहका नेताहरू भने सहभागी नहुने भएका छन् । तर, ओली समूहले नेपालसहित कारबाहीमा परेका ११ जना नेताबाहेक सबैलाई बैठकमा सहभागी हुन भनेको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले कारबाहीमा परेका ११ जनाबाहेकका सबै नेतालाई बैठकमा सहभागी हुन बोलाइएको बताउनुभयो ।

वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, कल्याणी खडका, रामकुमारी झाँक्रीसहितका ११ जना नेतालाई जेठ १० को बैठकले कारबाही गरेको थियो ।

ओली पक्षले बोलाएको बैठकमा जाने कि नजाने भन्नेबारे छलफल गर्न नेपाल पक्षको स्थायी कमिटी बैठक भोली बस्ने भएको छ ।

भोलिको बैठकले १८ गतेको बैठकमा जाने, नजानेबारे टुंगो लगाउने नेपाल पक्षका नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *